साँसद हुन राजदूत छोडेर आएका दीपकुमार भन्छन– निर्वाचनलाई भारतको पूर्ण सहयोग र समर्थन छ

Advertisement

काठमाडौंः काँग्रेस नेता एवं भारतका लागि निवर्तमान नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा हुन लागेको निर्वाचनहरुलाई भारतको पूर्ण सहयोग र समर्थन रहेको बताएका छन् ।

रिपोर्टर्स क्लबमा मंगलबार उपाध्यायले अहिले देखिएको वामगठबन्धनलाई भारतले सहज रुपमा लिएको समेत बताए । उनले भने, ‘खासगरी वामगठबन्धन चुनाव जिताउनको लागि मात्रै हो भन्ने देखिएको छ, अरु (विदेशी)लाई शंका गर्नुहुँदैन । चुनाव गर्ने जिम्मेवारी हाम्रो हो ।’

उपाध्यायले नेपालको चुनावप्रति भारतको सदैव साथ र सहयोग रहेको समेत सुनाए । उनले भने, ‘नेपालको चुनावलाई लिएर भारत सरकारले पनि औपचारिक रुपमा समर्थन, सद्भाव र सहयोग रहन्छ भनेको छ, त्यसैले भारतप्रति नेपालले कहिल्यै शंका गर्नुहुँदैन् ।’

उपाध्यायले दुई वर्षै कुटनीतिक यात्राबाट आफूले विश्राम लिएर पुनः राजनीतिमै फर्किएको भन्दै भने, ‘जीवन पाठशाला हो, नमरुञ्जेलसम्म सिक्ने हो, विशेष समयमा विशेष भूमिका निर्वाह गरेर म पुनः राजनीतिमा फर्किएको छु, राजदूत भएको बेलामा पनि म तत्कालिन पार्टी सभापति सुशील कोइराला र तत्कालिन राष्ट्रपति रामवरण यादवको विशेष आग्रहलाई सम्मान गरेर राजदुतको भूमिका निर्वाह गरेको हुँ । मैले त्यतिवेला पनि फर्कन्छु भनेर नै जानकारी गराएको थिएँ ।’

दुई वर्षे आफ्नो भारत बसाईको क्रममा आफूले विवेकले भ्याएसम्म खुल्ला हृदयले काम गरेको उपाध्यायको दावी छ । उनले भने, ‘अहिले नेपाल–भारत सम्बन्ध सुमधुर छ, प्रगाढ छ, मैले के कति काम गरें भन्ने कुरा जनताले राम्रोसँग बुझ्नुभएको छ ।’

उनले कपिलवस्तु जस्तो बुद्ध जन्मेको माटो, पवित्रभूमि र त्यहाँका जनताले आफूलाई माग गरेको तर्क गर्दै दुई वर्षे कार्यकालको कोर्सलाई सहज रुपमा पूरा गरेर आफू पुनः राजनीतिमा नै सक्रिय हुन लागेको र नैतिक बन्धनबाट खुल्ला भएको महशुस आफूले गरेको सुनाए ।
उनले संसदको म्याद सकिएको अवस्थामा आफ्नो राजीनामा अन्तिम–अन्तिम अवस्थामा स्विकृत भएकोले तत्काल राजदूत नियुक्त हुन नसक्ने अवस्था भए पनि नेपालको परराष्ट्र सेवा अत्यन्तै चुस्त–दुरुस्त र सक्षम नेतृत्व रहेकोले कुनै समस्या नआउने विश्वास दिलाए ।

उपाध्यायले कांग्रेसले सकेसम्म चुनावी तालमेल नगरीकन एक्लै चुनाव लड्नुपर्नेथियो भन्दै अहिले देखिएका चुनावी तालमेल पनि स्वभाविक रहेको स्पष्ट पारे । उनले थपे, ‘पहिलो कुरा जिते पनि वा हारे पनि कांग्रेस चुनाव एक्लै लडनुपर्दथ्यो । हामी तत्कालिन लाभको पक्षमा छैनौं, मुलुकले जित्नुपर्छ, जनताले जित्नुपर्छ भन्ने पक्षमा छौं ।’

उपाध्यायले लेफ्ट एलायन्स आक्रामक रुपमा उत्रिएकाले लोकतान्त्रिक शक्तिहरुबीच चुनावी तालमेलको प्रयास भइरहेकोले पहिलो कुरा देश र जनताले जित्नुपर्ने धारणा राखे । उनले वामगठबन्धनले पार्टीको सर्वोच्चतातर्फ इङगित गर्ने बताउँदै भने, ‘पार्टीको निर्णयपछि जनताको अभिमत घोप्टिन्छ भन्ने उहाँहरुको सिद्धान्त छ, जुन आफैमा लोकतान्त्रिक मुल्य र मान्यताको विपरित छ ।’

Advertisement

Advertisement

Advertisement