‘प्रदेशसभाको निर्वाचन कम्तिमा पाँच वर्ष रोक्नुपर्छ, काठमाडौंबाट २५ लाखलाई बाहिर पठाउनुपर्छ’

Advertisement

काठमाडौंः विकास विज्ञको रुपमा चिनिँदै आएका दिपेन्द्र कँडेलले प्रदेशसभाको चुनाव कम्तिमा पाँच देखि १० वर्षसम्मको लागि रोक्नुपर्ने तर्क अघि सारेका छन् । राजनीतिमा प्रवेशको घोषणा गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेशसभाको निर्वाचन सार्नुपर्ने बताएका हुन ।

कँडेलले अहिले केन्द्रको शक्ति स्थानीयतहमा गइसकेकोले स्थानीय तहलाई प्रभावकारी रुपमा काम गर्न दिनुपर्ने बेलामा प्रदेशसभाको चुनावमा अल्झिँदा विकासको गतिमा ‘ब्रेक’ लाग्ने बताए । उनले कम्तिमा पनि पाँच वर्षको लागि प्रदेशको निर्वाचन स्थगित् गर्नुपर्ने तर्क अघि सारेका हुन ।

कँडेलले यदि प्रदेशको निर्वाचन तत्काल नरोके मुलुकमा अर्को ठूलो आन्दोलन हुने खतरा औंल्याए । उनले भने, ‘प्रदेशसभाको निर्वाचनमा हामी अहिल्यै जाँदा आर्थिक समृद्धिको ढोका बन्द हुने अवस्था आउँछ । त्यसैले जनताले यो आक्रोशलाई ठूलो आन्दोलनको स्वरुप दिने संभावना  । त्यसैले प्रमुख दलहरुले समझादारी मै प्रदेशको निर्वाचन कम्तिमा पाँचवर्षको लागि स्थगित् गर्दा नै देश र जनताको हितमा हुन्छ ।’

आफू काठमाडौं उपत्यकालाई समृद्ध महानगर बनाउन राजनीतिमा लागेको भन्दै कँडेलले आफ्नो योजना प्रस्तुत गरेका थिए । कुन पार्टीमा प्रवेश गर्ने खुलासा नगरेका उनले २८ बुँदे राष्ट्रियस्तर र २६ बुँदे स्थानीयस्तरका नीतिहरु समावेश गरेर आफ्नो राजनीतिक प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन् । जसमा काठमाडौं उपत्यकाबाट कम्तिमा २४ देखि २६ लाख मानिसहरुलाई मोफसलमा पठाउने योजनासमेत रहेको छ ।

Advertisement

Advertisement

Advertisement