खुलेआम हिँडिरहेका बालकृष्ण ढुँगेललाई पक्राउ नगरेको भन्दै आइजीपीविरुद्ध मुद्दा दायर

Advertisement

काठमाडौंः अदालतको अवहेलना गरेको आरोपमा प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ।

सर्वोच्चले आदेश दिएको छ महिना बितिसक्दा समेत पूर्वसभासद् एवं माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलाई पक्राउ नगरेर अदालतको अपहेलना गरेको आरोपसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पुरक मुद्दा दायर गरेका हुन्।

ढुंगेललाई पक्राउ गरी कारबाहीका लागि त्रिपाठीले नै यसअघि दायर गरेको अर्को मुद्दामा सर्वोच्चबाट एक साताभित्र पक्राउ गर्न गत चैतमा ‘वारेण्ट’ जारी भएको थियो।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्चबाट दोषी ठहरिएपछि फैसला कार्यान्वयन गर्नुको सट्टा ढुँगेलले अदालत र न्यायाधीशविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिँदै आएका छन् भने माओवादीका नेताहरुले उनलाई पक्राउ गर्न बाधक बन्दै आएका छन् ।

पक्राउका लागि सर्वोच्चबाट वारेन्ट जारी भएपछि पनि उनी खुलेआम हिंडडुल गरेको दाबी त्रिपाठीको छ। तिहारअघि ढुंगेलले चुनावी रणनीति बनाउन राजधानीको बानेश्वरस्थित एक घरमा सभासद एवम् माओवादी केन्द्रका नेतासँग छलफलमा सहभागी भएको तस्विर सार्वजनिक भएको थियो ।

‘नेपाल प्रहरीका महानिरीक्षकलाई अदालतमा तत्काल सशरीर उपस्थित हुने आदेश गरी न्याय प्रशासन ऐन २०७३ दफा १७ (१) बमोजिम हदैसम्मको (एक बर्ष कैद र दश हजार जरिवाना) सजाय गरी पाऊँ,’ त्रिपाठीको माग छ।

त्रिपाठीले ढुंगेलको पक्राउलाई सुनिश्चित गर्न अन्य सुरक्षा निकायको समेत समन्वयमा नेपाल प्रहरीभित्र ‘उच्च स्तरीय टास्कफोर्स’ को गठनका लागि आदेशकोसमेत माग गरेका छन्।

Advertisement

Advertisement

Advertisement