वाम गठबन्धनले ताप्लेजुङ–दार्चुला चुनावी अभियान सञ्चालन गर्ने

Advertisement

काठमाडौंः पार्टी एकताको निर्णयसहित आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गरेका एमाले र माओवादी केन्द्रले यही कात्तिक १९ देखि २६ गतेसम्म ताप्लेजुङ–दार्चुला चुनावी अभियान सञ्चालन गर्ने भएका छन् ।

सो अभियानलाई दुवै पार्टीका उपल्लो तहका नेताले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणमा आगामी मंसिर १० गते निर्वाचन हुने हिमाली जिल्लामा चुनावी अभियानलाई सम्बोधन गर्नेछन् ।

पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन हुँदैछ । ती जिल्लाको चुनावी अभियानपछि दोस्रो चरणका लागि कार्यक्रम तय गरिने ती पार्टीले जनाएका छन् । यस्तै जिल्ला तहमा पनि दुवै पार्टीले सात सदस्यीय पार्टी एकता संयोजन समिति बनाउने, संयुक्त प्रचारप्रसार समिति बनाउने, जनवर्गीय तथा लेखक, बुद्धिजीवीका बीचमा संयुक्त कार्यक्रम गर्ने र विपक्षीका तर्फबाट फैलाइएको गलत प्रचारको खण्डन गर्दै वामपन्थी शक्ति नै लोकतान्त्रिक शक्ति हो भनेर स्थापित गर्ने रणनीति बनाइएको छ ।

यस्तै प्रदेश तथा जिल्ला तहमा संयुक्त भेलाको आयोजना गरी दुवै पार्टीबीच मैत्रीपूर्ण रूपमा निर्वाचन अभियान सञ्चालन गर्ने कार्यक्रम दुवै पार्टीले सञ्चालन गर्ने माओवादीकी प्रवक्ता पम्फा भुसालको भनाइ छ ।

एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले देशव्यापी रूपमा नै एकीकृत रूपमा चुनावी अभियान सञ्चालन गर्ने लक्ष्यका साथ कार्यक्रम तय गरिएको र त्यसले निर्वाचनको वातावरण बनाउने बताए ।

Advertisement

Advertisement

Advertisement