अर्को बिर्तामोड घटना दोहोरिने खतरा: घरमै आएर व्यापारीको हत्या भएपछि प्युठानका  व्यापारी आक्रोशित

Advertisement

प्यूठान: कार्तिक चार गते भाईटिकाको दिन एक व्यापारीको हत्या भएपछि नौबहिनी गाउँपालिका–६ बाहानेका सर्वसाधारण त्रसित बनेका छन् । ३५ वर्षीय बसन्त केसीको आफ्नै घरभित्र रातीको समयमा हत्या भएपछि सर्वसाधारण त्रसित बनेका हुन् ।

‘व्यापारीको घरभित्रै भएको हत्याले हामी त्रसित बनेका छौं,’ स्थानीय व्यापारी महेश थापाले भने,‘यो घटनाले सवैमा डरत्रासको वातावरण बनाएको छ ।’ घटनापछि सिंगो बजार र गाउँका जनता दुःखी बनेको उनले बताए ।

बाहाने बजार गाउँपालिकाको केन्द्रको रुपमा रहेको छ । गाउँपालिकाका स्याउलिवाङ, लिघा, डामृ, खवाङ, फोप्ली र लुङको बजार केन्द्र भएको थापाले बताए । ‘सामान्य झै–झगडा हुने गर्थे,’ उनले भने,‘यो घटनाले सवैलाई स्तब्ध बनायो ।’
व्यवसायीहरुको छाता संगठन प्यूठान उद्योग वाणिज्य संघले घटना दुःखदपूर्ण भएको जनाएको छ ।

‘घटना जघन्य र सुनियोजित छ,’ संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले भने,‘घटनामा संलग्न सवैलाई कानुनको दायरामा ल्याई कारवाही गर्नुपर्छ ।’ दोषी पत्ता लगाएर कारवाही गर्न उनले प्रहरीसँग आग्रह गरे ।

" हामी पनि बिर्तामोड घटना जस्तै दोषी पक्राउको माग गर्दै फेरी सडकमा उत्रन पर्ने भए अवस्था नराम्रो हुने" उनले चेतावनी दिए।

श्रीमानको हत्यामा संलग्न दोषीलाई कार्वाही गर्न मृतककी श्रीमती नारायणी केसीले माग गरेकी छिन् । श्रीमानको किरिया बस्नुभएकी केसी अढाई वर्षको छोरी सहित जिल्ला प्रहरी कार्यालयमा पुगेर दोषीलाई कारवाही गर्न माग गरेकी हुन् ।
उनले घटनाको निस्पक्ष छानविन गर्न समेत आग्रह गरेकी छिन् ।

घटनाको आरोपमा पक्राउ परेका केहि व्यक्तिलाई छुटाउन राजनीतिक दल लागेको भन्दै उनले दुःख व्यक्त गरिन् । ‘प्रहरी प्रशासनले दोषीलाई कारवाही गरि न्याय दिनेछ,’ उनले भनिन्,‘दोषीलाई राजनीतिक संरक्षण नहोस् ।’

केसीको हत्यासँगै दश लाख भारतीय रुपियाँ , अढाई लाख नेपाली रुपियाँ , दश तोला सुन र २० हजारको रिचार्ज कार्ड चोरि भएको परिवारले जनाएका छन् । मृतक केसीको १४ वर्षीया छोरी, १२ वर्षीय छोरा र अढाई वर्षीया छोरी छन् ।

घटनाको अरोपमा प्रहरीले सोही घरका छिमेकीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको आरोपमा छिमेकी १७ वर्षीय अमरजित केसी, २३ वर्षीय मन्जित केसी र ५९ वर्षीय शेर बहादुर केसीलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेलले बताए ।

‘भौतिक सवुत ल्यावमा परिक्षणका लागि केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाईएको छ’ उनले भने,‘पक्राउ परेकाहरुकाको वयान शुरु हुँदैछ ।’ चोरि भएको केही पैसा बरामत गरेको र थप खोजतलास जारी रहेको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताए । उनले कतैबाट पनि राजनीति दवाव नआएको बताए । ‘प्रहरी फ्रेस रुपमा काम गरिरहेको छ,’ उनले भने ।

Advertisement

Advertisement

Advertisement