सनराइजको १५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं : सनराइज बैंक लिमिटेडको १५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ ।

बैंकले कात्तिक ३० मा हुने साधारण सभामा गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गर्दैछ । बैंकले सोमबारदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ ।

बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांस पाउने हुँदा आइतबार नै सेयर खरिद गरी सक्नुपर्नेछ । अहिले कायम भइरहेका सेयरधनी भने स्वत लाभांशको हकदार हुनेछन् ।

सनराइजले हालैमात्र लिलामीमा बिक्री गरेको सेयरपछि कायम हुने चुक्ता पुँजीबाट बोनस दिन लागेको हो । यसआधारमा लिलामी सेयर किन्ने लगानीकर्ताले पनि बोनस पाउनेछन् । बैंकले कर तिर्न नगद लाभांश भने दिएको छैन । बोनसमा लाग्ने कर सेयरधनी आफैंले तिर्नुपर्नेछ । साधारण सभा कात्तिक ३० गते अमृतभोग क्याटरर्स कालिकास्थान, काठमाडौंमा हुनेछ ।

संस्थापक सेयरधनी समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेस हुने भएको छ । यसैगरी, बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभामा लगिदैछ ।

हकप्रद र लिलामी सेयर बिक्री पश्चात बैंकको चुक्ता पुँजी ७ अर्ब ८ करोड ९१ लाख ७९ हजार रुपियाँ पुगेको छ । यो पुँजीबाट बैंकले १ अर्ब ६ करोड ३३ लाख ७६ हजार ८५० रुपियाँ बराबरको बोनस सेयर दिन लागेको हो । यसरी बोनस दिइसकेपछि सनराइजको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५० रुपियाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले १ अर्ब १६ करोड ८९ लाख रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement