सेयर बजारका गिरावट रोकिएन, नेप्से दोहोरो अंकले झर्यो

Advertisement

काठमाडौंः सेयर बजारमा गत साता देखिएको गिरावट यो साताको पहिलो दिनमा पनि कायमै रहेको छ । सेयर बजार परिसुचक नेप्से आइतबार साढे १३ अंकले झरेर एक हजार ५४० अंक कायम भएको छ ।

कारोबार रकम यसअघिको दिनमा भन्दा सामान्य वृद्धि भए पनि बजारमा भने सुधार आउन सकेन । निर्वाचनको माहौलमा बजार बढनुपर्नेमा घट्नुलाई धेरैले स्वाभाविकरुपमा लिएका छैनन् । कतिपयले भने निर्वाचन गर्ने कुरामा देखिएको अन्यौलताको प्रभावको रुपमा यसलाई ब्याख्या गरेका छन् भने कतिपयले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेकाले बजार बढन नसकेको बताएका छन् ।

कम्पनीहरु यतिखेर धमाधम मुनाफा घोषणाको क्रममा रहेका छन् । समूहगत कारोबार हेर्दा कुनै पनि समूहमा आज वृद्धि हुन सकेन । सबैभन्दा बढि व्यापार, होटल र उत्पादनमूलक समूहमा एक प्रतिशतभन्दा बढिको गिरावट छ भने बाँकीमा एक प्रतिशतभन्दा कमको गिरावट छ ।

आज कुल ५० करोडको सेयर खरिद बिक्री भएकोमा नेपाल बंगलादेश बैंकको सबैभन्दा बढि चार करोड २० लाख रुपियाँको सेयर खरिद बिक्री भएको छ भने नाफा गर्नेमा सबैभन्दा अगाडि मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ता अगाडि छन् । घाटा खानेमा ओरियन्टल होटल लिमिटेडका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement