मोफसलमै सेयर ब्रोकर कार्यालय खुल्न थालेपछि राजधानी धाउनु पर्ने समस्या अन्त्य

Advertisement

बनेपा: सेयर खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् ।

बनेपामा विभिन्न सेयर ब्रोकरले कार्यालय स्थापना गरी सेयरको खरिद, बिक्रीका साथै सेयरसम्बन्धी सबै सुविधा दिन थालेपछि ब्रोकर कार्यालयमा भीड बढेको देखिएको छ ।

“समयको बचत भएको छ र त्यहाँभन्दा बढी सुविधा पाएका छौँ”– बनेपाका सेयर लगानीकर्ता राजकुमार तिमल्सिनाले भने । उनले करिब सात महिनादेखि सेयरका लागि काठमाडौँ जान बन्द गरेको उल्लेख गर्दै सेयर कारोबार गर्ने अधिकांश काठमाडौँ नजाने बताए ।

भिजन सुक्युरिटिज प्रालि (३४), नम्बर ब्रोकर कार्यालय बनेपाका प्रमुख प्रकाश अधिकारीले ग्रामीण क्षेत्रबाट सेयर कारोबार गर्न आउने केही नयाँ सदस्य थप भए पनि अधिकांश पुरानाले नै कारोबार गर्ने गरेको बताए ।

कारोबार बढेको समयमा त झन दबाब बढी हुन्छ त्यसैले पनि सेयर कारोबारप्रतिको आकर्षण बढी भएको देखाउँछ उनले भने । अधिकारीका अनुसार आइतबार मात्रै बनेपा शाखाबाट १२ हजार ५५० कित्ता सेयरको रु एक करोड १० लाख आठ हजार १२ को कारोबार भएको छ । कारोबार भएकामध्ये सबैभन्दा बढी बैंकिङ क्षेत्रको छ ।

यसबाहेक ४० नम्बर ब्रोकर कार्यालय क्रियटिभ सेक्युरिटिज प्रालि र डायनामिक सेक्युरिटिज प्रालिले पनि यस क्षेत्रमा सेयर कारोबार गर्दै आएको छ । व्यापारिक केन्द्रका रुपमा रहेको बनेपामा धुलिखेल, पनौती, भक्तपुर पाँचखाललगायतका क्षेत्रबाट पनि सेयर कारोबारका लागि आउने गर्छन् ।

Advertisement

Advertisement

Advertisement