अनुमति खारेज नभए देशभर पेट्रोलियम ढुवानी ठप्प पार्ने महासंघको चेतावनी

Advertisement

काठमाडौं: नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले कार्तिक १५ गतेदेखि सम्पूर्ण पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन्।

उनीहरुले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पछिल्लो समय मनलागी तरिकाले ट्यांकर संचालन अनुमति दिएकोभन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

व्यवसायीले गैरकानुनी रुपमा दिएको अनुमति रद्द नगरे पेट्रोलियम पदार्थको लोड/अनलोड कार्य ठप्प पार्ने महासंघका सचिव विष्णुकुमार खड्काले आइतबार आपूर्ति मन्त्रालय र आयल निगममा पेस गरेको मागपत्रमा उल्लेख गरेका छन् ।

खड्काले निगमकै ढुवानी विनियमावली-२०७३ विपरीत ट्यांकर सञ्चालन अनुमति दिएको आरोप उनीहरुले लगाएका हुन् ।

महासंघका कार्यवाहक अध्यक्ष गुणराज निरौलाका अनुसार ‘चोर बाटोबाट अनुमति दिइएका ट्यांकरको अनुमति रद्द गर्न मन्त्रालय र निगममा आग्रह गरेका छौं'। "अनुमति खारेज नभए देशभर ढुवानी ठप्प पर्छौं," उनले भने ।

महासंघले अनुमति दिनुपर्ने भए सार्वजनिक सूचना प्रकाशित गरी प्रतिस्पर्धा गराएर दिन माग गरेको छ । ‘ढुवानीका लागि ट्यांकर आवश्यक छन् भने किन सूचना निकालिएन,’ निरौलाले भने, ‘भित्रभित्रै दिनुको अर्थ के हो ? गैरकानुनी रुपमा एक सय ६३ ट्यांकरलाई अनुमति दिएको निरौलाले दाबी गरे।

‘निगमको ठेकेदार (कन्ट्याक्टर) हुन पाँचवटा ट्यांकर हुनुपर्ने विनियमावलीमा व्यवस्था छ,’ निरौलाले भने, ‘मनपरी रुपमा एकजनालाई एकदेखि १० वटासम्म अनुमति दिइएको छ।’

२०७३ पुसमै निगमको ढुवानी विनियमावली कार्यान्वयनमा आएको थियो । यसअघि नै नियम मिचेर अनुमति दिएपछि महासंघको आन्दोलन चेतावनीका कारण गत जेठमा निगमले सूचना प्रकाशित गरी ट्यांकर सञ्चालन अनुमति दिने निर्णय रद्द गरेको थियो।

Advertisement

Advertisement

Advertisement