दलहरुको घोषणापत्रमा अर्थतन्त्रको विकासको माध्यम पर्यटन उद्योग हो भनेर लेख्न आग्रह

Advertisement

काठमाडौंः पर्यटन व्यवसायीले दलहरुको घोषणापत्रमा अर्थतन्त्रको दिगो विकासको माध्यम पर्यटन उद्योग हुने भनी उल्लेख गर्न सल्लाह दिएका छन् । पर्यटनसम्वन्धी सोमबार आयोजित एक अन्तरक्रियामा दलका नेताहरुलाई बोलाएर व्यवसायीले त्यस्तो आग्रह गरेका हुन ।

संघीय र प्रादेशिक निर्वाचन नजिकिएको बेला सात वटै प्रदेशमा पर्यटन र होटल उद्योगको विकासका लागि प्रमुख तीन दलको सामुहिक प्रतिबद्दताका लागि आयोजित कार्यक्रममा व्यवसायीले आर्थिक विकासको सशक्त माध्यम पर्यटन उद्योग भएको भन्दै यसलाई प्राथमिकता दिन आग्रह गरे ।

होटल संघ नेपाल (हान)को पहलमा नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (टान), नेपाल पर्वतारोहण संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्ले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा हानका अध्यक्ष अमरमान शाक्यले तीन मुख्य दलका जिम्मेवार नेताहरुको उपस्थितिमा सात वटै प्रदेशका लागि पर्यटनको दुरदृष्टि र मार्गचित्र कोर्ने जमर्काे गरेको बताए ।

उनले नेपालको आर्थिक विकासका लागि सरकारले उचित नीति अख्तियार गर्ने र विमानस्थल, बाटो, उर्जा जस्ता अत्यावश्यक पूर्वाधारहरुमा लगानी गरेको खण्डमा सात वटै प्रदेशमा होटल तथा पर्यटन व्यवसायीहरु लगानी गर्न तयार रहेको बताए ।

शाक्यले सबै राजनीतिक दलहरुलाई आफ्नो घोषणापत्रमा पर्यटनलाई प्राथमिकताका साथ उल्लेख गर्न आग्रह गर्दै सबै प्रदेशहरुले आआफ्नो विशिष्टता झल्कने पर्यटकीय ब्राण्ड तयार गर्न, प्रदेश र स्थानीय सरकारले पर्यटक र पर्यटन व्यवसायीसँग सन्तुलित ढ्रगले मात्र शुल्क लगाउन, पर्यटन र होटल उद्योग सेवामुखी भएकाले सन्तुलित श्रम सम्बन्ध निर्माण गर्ने वातावरण तयार गर्न र दु्रतरुपमा आर्थिक विकास भएका छिमेकी मुलुकहरु चीन र भारतबाट बढी भन्दा बढी पर्यटकहरु भित्र्याउनका लागि सरकारीस्तरमा पहल गर्नका लागि पनि दलको नेतृत्वलाई अनुरोध गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता लिलामणी पोख्रेलले पर्यटन व्यवसाय साच्चै नै दिगो आर्थिक विकासको आधार हुनसक्ने भन्दै होटल तथा पर्यटन व्यवसायीहरुको चासोमा आफ्नो पार्टीको तर्फबाट उक्यबद्धता जनाए ।

काँग्रेस नेता प्रकाशसरण महतले पर्यटन विकासको विषय काँग्रेसको घोषणापत्रमा समावेश गर्ने प्रतिबद्धता जनाए । एमाले नेता सूर्य थापाले पनि पार्टीले तयार गर्ने चुनावको घोषणापत्रमा पर्यटन विकासको विषय प्राथमिकताका साथ निश्चित लक्ष्य तोकेरै राखिने बताए ।

Advertisement

Advertisement

Advertisement