सिक्लेस जलविद्युत् आयोजनाको परीक्षण उत्पादन शुरू

Advertisement

पोखरा: कास्कीको सिक्लेस गाउँमा निर्माण गरिएको १३ मेगावाट क्षमताको सिक्लेस जलविद्युत् आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन शुरू भएको छ ।

दुई अर्ब ५ करोडको लागतमा निर्माण सम्पन्न गरिएको आयोजनाबाट परीक्षण उत्पादन थालिएको आयोजनाका निर्देशक किरण केसीले जनाकारी दिए।

यस आयोजनाको प्रवर्द्धक सिक्लेस हाइड्रोपावर कम्पनी हो ।

केसीका अनुसार आयोजनाबाट उत्पादित विद्युत् परीक्षणपछि तीन साताभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। आयोजनाको निर्माण साढे ३ वर्ष अघि शुरू भएको थियो ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि भूकम्प र नाकाबन्दीले निर्माण कार्य डेढ वर्ष ढिलो भएको केसीले बताए ।

मादी गाउँपालिका स्थित सिक्लेस गाउँनजिकैको मड्क्युखोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई सुरुङबाट ३ किलोमिटर तल झारेर विद्युत् उत्पादन गरिएको छ ।

उत्पादित विद्युत् १३२ केबी प्रसारण लाइन लेखनाथस्थित बूढीबजामा जडान हुँदै छ । आयोजनास्थलदेखि प्रसारण लाइनसम्मको २५ किलोमिटर दूरीको प्रसारण लाइनमध्ये आधा आयोजनाले नै बनाएको केसीले जानकारी दिए । उनका अनुसार प्रसारण लाइन बनाउन मात्र आयोजनाले करीब रू. ३० करोड खर्च गरेको छ ।

आयोजनाको निर्माण कार्य केसी कन्ष्ट्रक्शनले गरेको हो । आयोजनामा नेपाल बैङ्कको अगुवाइमा सातओटा विभिन्न बैङ्कले लगानी गरेका छन् ।

Advertisement

Advertisement

Advertisement