प्राधिकरणलाई विभागको ध्यानाकर्षण: तमोर आयोजनाको अध्ययन छिटो सक्नु

Advertisement

काठमाडौँ: विद्युत् विकास विभागले तोकिएको समयभित्रै तमोर जलाशय आयोजनाको अध्ययनको कार्य सम्पन्न गरी निर्माण प्रक्रिया शुरु गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ ।

विभागले अध्ययनको काम सम्पन्न गर्न र त्यसपछि के कति क्षमतामा आयोजना निर्माण गर्ने हो, सो को समेत प्रस्ट खाका पेश गर्न प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

प्राधिकरणले सो आयोजनाको क्षमता ७२० मेगावाटको हुने जनाएको छ । तर विभागले भने कति क्षमताको अध्ययन गर्न अनुमतिपत्र दिइएको हो सोही आधारमा काम गर्न प्राधिकरणलाई आग्रह गरेको छ । विभागले सोमबार सम्बद्ध पक्षसँग गरेको छलफलमा अध्ययनको काम सम्पन्न गर्न प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।

विभागका महानिर्देशक नवीनराज सिंहले क्षमता वृद्धिभन्दा पनि तोकिएको समयमा नै अध्ययन सकेर काम शुरु गर्न प्राधिकरणको ध्यानाकर्षण गराएको जानकारी दिए ।

तमोर जलाशयकै क्षेत्रमा पर्ने गरी यसअघि नै विभागले ३७.६ मेगावाट क्षमताको काबेली ए र २१.६ मेगावाटको तल्लो हेवालाई अनुमतिपत्र दिएको छ । ती दुई आयोजनाका कारण तमोर जलाशययुक्त आयोजनाको क्षमता ७२० मेगावाट बनाउन नसकिने धारणा विभागको छ ।

तर प्राधिकरणले भने प्राकृतिक स्रोतको उच्च सदुपयोग गर्ने भएकाले ७२० मेगावाटमा नै निर्माण गर्नुपर्ने धारणा राख्दै आएको छ । महानिर्देशक सिंहले भने अध्ययन सकिएपछि क्षमताका बारेमा समेत निर्णय हुने बताए ।

छलफलमा प्राधिकरण तथा जलाशय वरपर पर्ने आयोजनाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

Advertisement

Advertisement

Advertisement