ढुंगेल डिल्लीबजार कारागार चलान, १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नुपर्ने

Advertisement

काठमाडौँ: पूर्वसभासद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ। हत्या अभियोगमा दोषी ठहर भएका पूर्वसांसद बालकृष्ण ढु‌ंगेललाई नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरो (सिआइबी) ले मंगलबार पक्राउ गरेको थियो।

सिआइबीले पक्राउ गरेर जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन इकाइ शाखामा बुझाएको थियो। अदालतले ढुंगेललाई कैद भुक्तानका लागि डिल्लीबजार कारागारमा पठाएको हो ।

माओवादी द्वन्द्वकालमा ओखलढु‌ंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेकोमा दोषी ठहर गर्दै १२ वर्षअघि जिल्ला अदालत ओखलढु‌ंगाले ढुंगेललाई आजीवन काराबासको सजाय सुनाएको थियो।

जिल्ला अदालतको सो आदेश राजविराजस्थित पुनरावेदन अदालतले उल्ट्याएपछि पीडित परिवारले सर्वोच्चमा मुद्दा हालेका थिए। ७ वर्षअघि सर्वोच्चले जिल्ला अदालत ओखलढुंगाको फैसला सदर गरेको थियो।

सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। ढुंगेल २०६४ मा ओखलढु‌गा २ बाट सांसद निर्वाचित भएका थिए।

यसअघि कात्तिक ६ गते अधिवक्ता दिनेश त्रिपाठीले ढु‌ंगेललाई पक्राउ गर भन्ने सर्वोच्च आदेश पालना नगरी अदालतको अपहेलना गरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरूद्ध सर्वोच्चमा रिट हालेका थिए।

सर्वोच्चमा रिट दायर भएको हप्ता दिनपछि प्रहरी महानिरीक्षक प्रकाश अर्यालको निर्देशनपछि ढुंगेल प्रकाउ परेका हुन्। पक्राउ पछि उनले अव १२ वर्ष पाँच महिना २२ दिन कैद बस्नु पर्ने छ ।

Advertisement

Advertisement

Advertisement