घोषणापत्र सार्वजनिक गर्दै काँग्रेस नेताहरुले भने- लोकतन्त्र र संवृद्धिका लागि काँग्रेसको जित अपरिहार्य

Advertisement

काठमाडौंः प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा कांग्रेसले जित्नु अपरिहार्य भएको बताएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४ का लागि कांग्रेसको घोषणापत्र मंगलबार एक समारोहमा सार्वजनिक गर्दै उनले कांग्रेसको नेतृत्वमा नै २००७ सालयता मुलुकमा ठूला परिवर्तन सम्भव भएको र मुलुकमा अब आर्थिक समृद्धि गर्न पनि आसन्न निर्वाचनमा पनि कांग्रेस विजयी हुनुपर्ने धारणा व्यक्त गरे ।

कम्युनिष्ट शासन व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता र मानवाधिकार हनन हुनाका साथै त्रासको वातावरण हुने बताउँदै देउवाले भने, “जनतालाई देशको मालिक बनाउन लोकतन्त्र नै चाहिन्छ र लोकतन्त्रको संरक्षण कांग्रेसले मात्र गर्न सक्छ ।”

हिमाल, पहाड र मधेसलाई जोड्ने एक मात्र पार्टी कांग्रेस भएको दाबी गर्दै उनले समावेशी अधिकार स्थापित गर्न, राष्ट्रिय एकता बलियो बनाउन र राष्ट्रिय अन्तर्राष्ट्रिय विश्वासका लागि पनि मुलुकमा कांग्रेसको विजय अपरिहार्य छ भने ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकपछि मुलुकमा नयाँ संविधानमार्फत राजनीति व्यवस्थाको टुंगो लागेको बताउँदै मुलुकमा अब आर्थिक समृद्धि आवश्यक भएको र यसका लागि कांग्रेसले घोषणापत्रमार्फत प्रतिबद्धता सार्वजनिक गरेको जानकारी दिए ।

‘संविधान जारी गर्दाका सहयात्री दलहरु नै संविधानको मौलिकता परिवर्तन गरी अधिनायकवादतर्फ उन्मुख भएकामा’ चिन्ता व्यक्त गर्दै वरिष्ठ नेता पौडेले भने, “त्यस्तो प्रयासलाई कांग्रेसले कदापि सफल हुन दिँदैन ।”

काँग्रेस महामन्त्री शशांक कोइरालाले कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु कांग्रेसका लागि चुनौती भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सम्पूर्ण कांग्रेस नेता कार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा होमिन आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement