जलविद्युत् उपकरण आपूर्ति गरिरहेको अष्ट्रियन कम्पनीले आयोजना गर्यो ‘ग्राहक भेटघाट कार्यक्रम’

Advertisement

काठमाडौंः सहरी विकास मन्त्री दिलनाथ गिरीले जलविद्युत्लाई राष्ट्रिय आम्दानीको मेरुदण्डका रुपमा स्थापित गर्ने सरकारको नीति रहेकाले यस क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न सरकारले लचिलो नीति लिएको बताएका छन् ।

नेपालमा जलविद्युत् विकासकर्तालाई उपकरण आपूर्ति गरिरहेको अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले आयोजना गरेको ‘ग्राहक भेटघाट कार्यक्रम’को उद्घाटन कार्यक्रममा गिरीले नेपालमा जलविद्युत् विकासका लागि पनि अष्ट्रियन लगानीकर्ताहरुलाई आग्रह गरे ।

नेपालका लागि अष्ट्रियाकी राजदूत ब्रिगिट ओपिनिगर वाल्सफोरले जलविद्युत् स्वच्छ, नवीकरणीय उर्जाको स्रोत हुनुका साथै आम्दानीको स्रोत भएकाले नेपालले जलविद्युत् विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए । नवीकरणीय तथा स्वच्छ उर्जाले वातावरणीय प्रदूषण न्यूनीकरण गर्नुका साथै पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउन मद्दत गर्ने उनको भनाई छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको कुल जलविद्युत् उत्पादन क्षमताको दश प्रतिशतभन्दा कम मात्र दोहन भएको बताए । उनले एन्ड्रिजका लागि नेपाल ठूलो बजार रहेको बताए । एन्ड्रिजले नेपालमा विगत दुई दशकदेखि उपकरण आपूर्ति गर्दै आएको छ ।

एण्ड्रिजका उपकरण गुणस्तरीय तथा आपूर्तिपछिको सेवा पनि विश्वसनीय रहेको दावी गरिएको छ । जलविद्युत् उपकरण आपूर्तिमा नेपाली बजारमा ठूलो हिस्सा ओगटेको एण्ड्रिजको उपकरण नेपालको सबैभन्दा उच्चक्षमताको जलविद्युत् आयोजना माथिल्लो तामाकोसी, चिलिमे, मध्यभोटेकोसीमा प्रयोग भएका छन् ।

अन्य निजी प्रवद्र्धकहरुले विकास गरेका आयोजनाहरुमा पनि एण्ड्रिजका उपकरण प्रयोग भएका छन् । घिसिङले अहिले विद्युत् खरिद सम्झौता भएर निर्माणको क्रमम तीन हजार पाँचसय मेगावाट क्षमताका तीनसय जति आयोजनाहरु रहेको बताए ।

प्रवद्र्धकहरुलाई विश्वासमा लिन गुणस्तरीय सामग्री आपूर्ति र बिक्री पछिको सेवालाई पनि चुस्त राख्न घिसिङको सुझाव थियो ।

नेपालका लागि कमर्सियल कन्सुलर ओस्कर एण्ड्सनरले एन्ड्रिजले नेपालमा बिसौं वर्षदेखि काम गर्दै आएको र अन्य अष्ट्रियन कम्पनीहरु पनि नेपालमा व्यवसाय गर्न इच्छुक रहेको बताए । नेपालमा अस्ट्रियन लगानी प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक ‘नेपाल—अस्ट्रिया इकोनोमिक फोरम’को आयोजना गरिएको उल्लेख गर्दै अन्य कम्पनीहरु पनि एन्ड्रिजजस्तै च्याम्पियन हुने आशा व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement