उपत्यकामा ट्राफिक लेन पालनामा फेरी कडाइ, हर्न निषेध गर्न ‘पहिला तपाईं अनि म’, को नारा

Advertisement

काठमाडौँ: काठमाडौँ उपत्यकामा अबदेखि जथाभावी रुपमा सवारी चलाउन नपाइने भएको छ । उपत्यकामा हुने सडक दुर्घटना कम गर्न तीव्रगतिमा गुड्ने सवारीसाधन सडकको बीच भागबाट र सर्वसाधारण बोक्ने सवारी सडकको बाहिरी भागबाट हिँड्नुपर्ने भएको छ ।

जथाभावी ढंगले सवारी चलाउँदा दुर्घटना बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार भक्तपुरदेखि काठमाडौँ आउने सवारीसाधनलाई प्रशिक्षण दिएको हो ।

‘पहिला तपाईं अनि म’, ‘हर्न नबजाउँ’, ‘सडकको दाँया भागबाट मात्र ओभरटेक गर्नुहोस्’, ‘मोटरसाइकल, साइकल, ट्रक, मिनीट्रक बाँया भागमा मात्र’ नारासहितका विभिन्न प्लेकार्ड प्रदर्शन गरी महाशाखाले सवारी चालक र यात्रुलाई जनचेतना प्रदान गरेको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकामा वार्षिक हुने दुर्घटनामध्ये ४२ प्रतिशत व्यक्ति पैदलयात्रु पर्ने गरेको भन्दै उक्त दुर्घटनामा कमी ल्याउन यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । “सभ्य र अनुशासित भएर सवारी चलाउँदा दुर्घटना ह्वात्तै घट्छ,”– प्रमुख खनालले भने ।

उनले आगामी दिनमा काठमाडौँ तथा ललितपुरका विभिन्न भागमा यस्तो कार्यक्रम सञ्चालन गर्ने बताए।

 

Advertisement

Advertisement

Advertisement