वैवाहिक समारोहमा ट्रान्सफर्मर विष्फोट हुदाँ १३ जनाको मृत्यु

Advertisement

नयाँदिल्ली: वैवाहिक समारोह भइरहेको ठाउँमा विद्युत ट्रान्सफर्मर विस्फोटन हुदाँ भारतमा १३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक जना गर्भवती महिलासमेत रहेको प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

“चार जनाको घटनास्थलमै मृत्यु भयो,” स्थानीय एक प्रहरी अधिकारी रामेश्वर सिंहले एएफपीसँग भने। उनले भने, “हामीले घटनाको कारणका बारेमा जाँचबुझ गरिरहेका छौं ।”

विस्फोटनमा परी घाइते भएका वा पोलिएका मध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि सिंहले जानकारी दिए ।

स्थानीयबासिन्दाले ट्रान्सफर्मर मर्मत गर्न आफूहरूले पटक पटक विद्युतका कर्मचारीहरूलाई आग्रह गरेको भए पनि उनीहरूले कुनै वास्ता नगरेको बताएका छन् ।

विद्युत वितरण गर्ने र विद्युतको गति तथा मात्रालाई नियन्त्रण गर्ने एक प्रकारको यन्त्र वा विद्युत संजालको एक भागलाई ट्रान्सफर्मर भनिन्छ ।

भारतमा विद्युत प्रणालीमा भएको गडबडीका कारण धेरै दुर्घटना हुनेगरेको छ । विषेश गरेर विद्युतीय सामग्रीहरूको पर्याप्त र उचित मर्मत नहुनु तथा ग्रामीण क्षेत्रमा आवश्यकता अनुसारको बजेटको व्यवस्था नहुनुका कारण दुर्घटना हुनेगरेको बताइएको छ ।

गत सन् २०१५ मा मात्रै भारतमा विद्युतीय दुर्घटनाका कारण झण्डै दश हजार जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

 

Advertisement

Advertisement

Advertisement