मंसिर १ गतेदेखि १५औं हस्तकला व्यापार मेला आयोजना हुने

Advertisement

काठमाडौंः नेपाल हस्तकला महासंघले आउँदो मंसिर १ गतेदेखि राजधानीको भृकुटीमण्डपमा हस्तकला व्यापार मेला आयोजना गर्ने भएको छ । पाँच दिन चल्ने यो १५औँ हस्तकला मेला हो। महासंघले पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिएको हो ।

नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्न हरेक बर्ष गरिँदै आएको यो मेलामा प्रतियोगितात्मक हस्तकला प्रदर्शनी पनि हुनेछ । महासंघका अध्यक्ष धर्मराज शाक्यका अनुसार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा विगतमा जस्तै यस बर्ष पनि गर्न लागिएको मेलाले नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

हाल नेपाली हस्तकलाको निर्यात अमेरिका, युरोपियन मुलुक, फ्रान्स, बेलायत, नेदरल्याण्ड, जापान, चीन, भारतलगायत ८० वटा मुलुकमा ५० भन्दा बढी थरीका हस्तकलाका सामग्री निर्यात हुँदै आएको छ । स्वदेश तथा विदेशमा नेपाली हस्तकलाका सामग्री झण्डै रु १० अर्ब बराबरको कारोबार हुने र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ११ लाख व्यक्तिले रोजगारी पाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, सुती, ढाका, जडीबुटी, अर्थोडक्स, चिया, पश्मिना, हाते कागज, प्राकृतिक रेशा, बाँसजन्य सामानका नौवटा प्याभिलियनसहित दुईसय स्टल रहनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रोलाई रु २० हजार पुरस्कार दिने आयोजकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement