विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका जोशीले चुनाव लडन नपाउने कानुन व्यवसायीको दावी

Advertisement

काठमाडौंः कानुन व्यवसायीहरुले भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दिन पाउने नपाउने विषयमा फरक फरक तर्क देखिएको छ ।

विशेष अदालतले दोषी ठहर गरेपछि सर्वोच्चमा पुनरावेदन गरेका जोशीको मुद्दा विगत पाँच बर्षदेखि टुङ्गो लाग्न सकेको छैन । विशेष अदालतले २०६९ साउन १० गते जोशीलाई डेढ बर्ष कैद र चार करोड ३२ लाख रुपियाँ बिगो जरिवाना सुनाएको थियो ।

कानुन व्यवसायी दिनेश त्रिपाठीका अनुसार विशेष अदालतले जोशीलाई भ्रष्टाचारी ठहर गरिसकेपछि सर्वोच्चको फैसला नआउँदासम्म त्यो नै अन्तिम हुने भन्दै जोशीले कुनै पनि हालतमा चुनाव लडन पाउँदैनन् ।

त्रिपाठी भन्छन– सर्वोच्चले भोलि जोशीलाई दोषी ठहर गर्ला वा नगर्ला छुट्टै कुरा हो । तर अहिले त उनी विशेष अदालतबाट दोषी प्रमाणित भई सजायसमेत सुनाइएका व्यक्ति हुन । सर्वोच्चले फैसला नगर्दासम्म विशेषले गरेको फैसला नै अन्तिम हो ।

निर्वाचनको अन्तिम नामावली प्रकाशन नभइसकेकाले निर्वाचन आयोगले जोशीको उम्मेदवारी रद्द गर्ने त्रिपाठीको ठोकुवा छ । उनले भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई गलत व्याख्या गरेर चुनाव लड्न दिने हो भने त्यसले कानुनी राज्यको उपहास हुन्छ भन्दै विवादमा मुछिएकाहरुलाई कुनै पनि प्रोत्साहित गर्न नहुने बताए ।

नाम नबताउने शर्तमा तनहुँका एक कानुन व्यवसायीले भने सर्वोच्चको फैसला नआउँदासम्म जोशीलाई चुनाव लडन कानुनी बाधा नपर्ने तर्क गर्छन । उनी भन्छन– नैतिकरुपमा उहाँ (जोशी) आफै चुनाव लडन नहुने हो । तर कानुनले अन्तिम फैसला नआउँदासम्म आरोपी दोषी हुँदैन । पुनरावेदनमा नगएको भए विशेष अदालतको फैसला नै अन्तिम हुने थियो भन्दै उनले आफूले जोशीको पक्षमा नभई कानुनको व्याख्याको मात्रै कुरा गरेको बताए ।

मुद्दा मिलाइदिन राखेको शर्त देउवा र पौडेलले नमानेपछि बागी उम्मेदवारी
काठमाडौंः अदालतमा आफूविरुद्धको भ्रष्टाचारको मुद्दा खेपिरहेका काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उक्त मुद्दा मिलाइदिन काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग शर्त राखेको खुलासा भएको छ ।

देउवा र पौडेलले उनको शर्त नमानेपछि जोशीले तनहुँ क्षेत्र नं. १ मा पौडेलविरुद्ध बागी उम्मेदवारी दिएको देउवाका एक सहयोगीले बताए । उनले– जोशी दाईले मुद्दा नै मिलाएर आफूलाई भ्रष्टाचारको आरोपबाट मुक्त गर्न शर्त राख्नुभयो । समानुपातिक सुचीमा राखेर पछि साँसद बनाउँछौं भन्दा उहाँले मान्नुभएन । मुद्दा मिलाउने शर्त संभव थिएन । दाई ( शेरबहादुर)ले मान्नुभएन । त्यो भएपछि उहाँ रिसाएर निस्किनुभयो ।

काँग्रेसबाट प्रधानमन्त्रीको भावी उम्मेदवारको रुपमा प्रस्तुत भएका वरिष्ठ नेता पौडेलविरुद्ध पहिलेदेखि नै छापामार शैलीमा गालीगलौजा र आलोचनामा उत्रिँदै आएका जोशी पछिल्लो समयमा काँग्रेस नेता कृष्ण सिटौलासँग नजिकिएका छन् । गृह र शिक्षामन्त्री हुँदा कराडौं रुपियाँ भ्रष्टाचार गरेको आरोप खेप्दै आएका उनले भ्रष्टाचार गरेको रकम छोरोहरुमार्फत अष्ट्रेलिया र अमेरिका पठाएको आरोप लाग्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement