पाँच अर्ब रुपियाँको विकास ऋणपत्र निष्कासन हुँदै

Advertisement

काठमाडौँ : नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपियाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । सात वर्षे अवधिको यस विकास ऋणपत्र कात्तिक १९ गते (आइतबार) अपराह्न २ बजेसम्म बोलकबोल हुनेछ भने कात्तिक २० गते निष्कासन हुनेछ । यसको ब्याजदर पनि बोलकबोलकै माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, वीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने यो विकास ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइनेछ । ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुनेछ भने सावाँ ब्याज भुक्तानी २०८१ कात्तिक २० गते हुने राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ । ब्याज आम्दानीमा कर लाग्ने छ ।

यसमा कम्तीमा ५० हजार रुपियाँको आवेदन दिन पाइनेछ । सरकारले चालु आर्थिक वर्षमा १ खर्ब ४५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिइएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात ४०० करोड र १०० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

अस्वीकृत बोलवालाहरुको अर्नेष्टमनी वापतको रकम यस सम्बन्धी निर्णय भएको मितिले ७ दिनभित्र बिना ब्याज फिर्ता हुनेछ । प्राप्त बोल आंशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार यस बैंकको खुला बजार संचालन समितिलाई हुनेछ भने यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्फत मात्र हुने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement