नेपालको निजी क्षेत्र संकुचित छ, प्रतिस्पर्धी हुनै सकेको छैनः डा. शान्तराज सुवेदी

Advertisement

जागिरे जीवनबाट भर्खरै बिश्राम लिएका पूर्वअर्थसचिव डा. शान्तराज सुवेदी आगामी दिनमा कुनै विदेशी संस्थामा परामर्शदाता भएर आफू नबस्ने बरु सरकारले संघीयता कार्यान्वयन र अर्थतन्त्रका क्षेत्रमा आफ्नो भूमिका खोजेमा सहयोग गर्न तयार रहेको बताउँछन् । नेपालको प्रशासन यन्त्रमा सुधार हुँदै गएको अनुभव गर्ने सुवेदी नेपालको निजी क्षेत्र भने संकुचित रहेको र प्रतिस्पर्धी हुन नसकेको बताउँछन् । कर्पोरेट नेपाल डटकमद्धारा सञ्चालित साप्ताहिक टेलिभिजन कार्यक्रम 'कर्पोरेट नेपाल'को शुक्रबार प्रशारण भएको कार्यक्रममा उनीसँग गरिएको कुराकानीको सार यस्तो छः
  • साढे दुई दशक लामो सरकारी सेवाबाट विदा लिनुभएको छ । अबको तपाईंको योजना के छ ?
निजामती सेवामा २५ बर्ष तीन महिना बिताएर हालै अवकाश पाएको छु । अवकाशित जीवन कसरी बताउने एउटा महत्वपूर्ण विषय हो । लामो समय निजामती सेवामा बसेको, निजामती सेवामा पनि अर्थमन्त्रालयमा बसेर अर्थतन्त्रको विषयमा काम गरेको हुनाले यो विषय नै मेरो महत्वपूर्ण विषय र आगामी दिनका लागि मेरो आफ्नो विषय हो । सेवाबाट अवकाश पाइसकेपछि पनि देशको अर्थतन्त्रको विषयमा, आर्थिक गतिविधिको विषयमा, विकास प्रशासनको विषयमा, कहाँ कसरी अघि बढन सकिन्छ ? के गर्न सकिन्छ ? भन्ने विषयमै मैले चाख राख्ने हो । तर, मैले तत्कालै के गर्ने ? कसरी अघि बढ्ने भन्ने योजना बनाइसकेको छैन । सोचेर उपयुक्त के हुन्छ, त्यसका आधारमा अगाडि बढ्छु । केही समय बाहिरबाट देशको माहौल, अर्थतन्त्रको अवस्था, संघीयता कार्यान्वयनलाई हेर्ने छु ।
  • भनेपछि तत्काल के गर्ने योजना बनाइसक्नुभएको छैन् ?
चार पाँच महिना सोचेर मात्रै निर्णय गर्छु ।
  • सचिवबाट अवकाश लिनेहरु हेर्यो भने अधिकांश कोही राजनीतिमा छिरेको, कोही राजदूत हुन इच्छा गरेको र कोही विदेशी संस्थाहरुमा परामर्शदाता भएको देखिन्छ । त्यतापट्टि तपाईंको रुची कस्तो छ ?
यसमा मेरो स्पष्ट धारणा छ । नेपाल सरकारको सेवामा लामो समय बसेको मान्छेले नेपाल सरकारको सपथ पनि खाएको हुन्छ । सरकारका विभिन्न गतिविधि जानकारी पनि हुन्छ । त्यसकारण त्यसलाई बाहिर लगेर उपयोग गर्नु उपयुक्त हुँदैन । कन्सलट्यान्सीलगायतका काम गर्ने मेरो कुनै सोचाई नै छैन् । स्वयम नेपाल सरकारले नै हाम्रो दक्षता, योग्यता, विशेषज्ञता उपयोग गर्न चाहेमा नेपाल सरकारकै कामका लागि उपयोग गर्नु स्वाभाविक हो ।
  • कुनै आयोगहरुमा नियुक्ति भयो भने जान तयार हुनुहुन्छ ?
त्यो सरकारको इच्छामा भर पर्ने कुरा पनि हो । विशेषज्ञताको प्रयोग गर्न यसअघि पनि संवैधानिक नियुक्तिमा नेपाल सरकारका सचिवहरुबाट गएका छन् । त्यस्तो अवस्था आउन सकेमा, आयो भने हेर्नुपर्ने आफ्नो ठाउँमा छ । तर अहिले मैले कतै पनि केही सोचको छैन । देशको अवस्था, आर्थिक अवस्था, संघीयता कार्यान्वयनको विषयमा मैले चाख राखेको हुनाले यसैमा ध्यानपूर्वक हेरिरहेको छु ।

थप कुराकानी भिडियोमा हेर्नुहोस्

Advertisement

Advertisement

Advertisement