पोखरामा पनि पक्राउ परे तीन भारतीय हतियारधारी

Advertisement

पोखरा: दुई दिन अघि राजधानीको कमलादी नजिकबाट दुई भारतीय बन्दुकधारी पक्राउ परेको घटना सेलाउन नपाउंदै, कास्कीको पोखरामा पनि शुक्रबार साँझ तीन भारतीय नागरिक पोखराको सिद्धार्थ चोकबाट पक्राउ परेका छन् ।

उनीहरुको साथबाट एक नेपाली सहयोगी पनि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु ‘सुटर’ रहेको आशंकामा अनुसन्धान भइरहेको छ । नेपाल प्रहरीका अनुसार उनीहरु भारतीय प्रहरीको खोजी सूचीमा रहेका बुझिएको छ ।

पोखरा बजारको एक किराना पसलमा सामान खरिद गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ गर्न भारतीय प्रहरीसमेत नेपाल आएको स्रोतले जनाएको छ । नेपाल भारतबीच सुपुर्दगी सन्धी नभएकाले पक्राउ गरेर भारतलाई बुझाउन समस्या पर्ने भन्दै नेपाल प्रहरसँग समन्वय गरी भारतीय प्रहरी आएको स्रोतको भनाई छ ।

‘सबै काम प्रहरी प्रधान कार्यालयबाट भइरहेको छ । यहाँ पक्राउमात्र गरिएको हो । अहिले अनुसन्धानको क्रममा छ,’ एक प्रहरी अधिकारीले भने ।

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले पक्राउ गरिएको स्विकार गर्दै अनुसन्धानका क्रममा रहेकाले तत्काल पहिचान नखुलाईएको बताए । ‘भारतीय पक्राउ परेका छन् । अनुसन्धान भईरहेको छ,’ उनले भने, ‘सबै कुरा पछि हुनेछ ।’

प्रहरी स्रोतका अनुसार पक्राउ परहेकाहरु भारतको राजस्थानमा आंतक मच्चाउने गिरोहका सदस्य हुन् । हप्ता असुलीदेखि हत्यासम्मको आरोपमा मुद्धासमेत उनीहरुले खेपिरहेका छन । उनीहरु पोखरामा लुक्न आएका हुनकी अन्य कुनै योजनामा भन्ने विषयमासमेत अनुसन्धान भइरहेको छ ।

 

Advertisement

Advertisement

Advertisement