चुनाव नजित्दै एमालेमा प्रधानमन्त्रीका लागि च्याखे दाउ सुरु

Advertisement

काठमाडौंः अर्को कम्युनिष्ट घटक माओवादीसँग चुनावी तालमेल गरेको एमालेमा चुनाव भएर बहुमत नआउँदै प्रधानमन्त्रीका लागि च्याखे दाउ सुरु भएको छ ।

एमाले अध्यक्ष केपी ओली पक्षधरहरुले भावी प्रधानमन्त्री ओली नै हुने बताइरहेको बेला सोही पार्टीका वरिष्ठ नेता माधव नेपालले भने अहिले नै को प्रधानमन्त्री हुन्छ ? भन्न अहिले नै भन्न नसकिने बताएका छन् ।

रिपोर्टर्स क्लवको कार्यक्रममा आइतबार वाम गठवन्धनबाट प्रधानमन्त्री को हुन्छ ? भनी सोधिएको प्रश्नमा उनले भने, ‘यो कुरा भोलिको दिनमा सल्लाह गरेर भन्छौं, स्वभाविक रुपमा अनुमान गर्नुहोस् । को प्रधानमन्त्री बन्ने भन्ने कुरा पछि हुन्छ, यो कुबेला हो ।’

यसअघि एमाले उपाध्यक्ष वामदेव गौतम निकट रामेश्वर फुँयालले अबको प्रधानमन्त्री वामदेव हो भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । नेता माधव नेपालको भनाईले भावी प्रधानमन्त्रीमा आफ्नो इच्छालाई दर्साउँछ ।

एमाले र माओवादी तालमेलसँग वाम गठवन्धनको बहुमत आउने दावी गरिएको बेला अबको प्रधानमन्त्री को हुने भन्ने कुरामा भित्रभित्रै किचलो सुरु हुन लागेको संकेत देखिएको छ । नेता नेपालले राप्रपा र परिवार दल समेतको सहभागितामा सरकार बनाउने भन्दै त्यसैका लागि आफूहरुले झापा ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देललाई सहयोग गरेको बताए ।

प्रधानमन्त्रीसमेत भइसकेका उनले निर्वाचपछि काँग्रेसको हालत प्रजा परिषदजस्तै हुने तर्क गरे । नेपालले भने, ‘नेपालको राजनीतिक ईतिहासमा कांग्रेस अहिले पतनको बाटोमा छ, निर्वाचनपछि कांग्रेस प्रजा परिषदजस्तै हुन्छ ।’

रौतहट छोडेर पछिल्लो समयमा काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव लड्दै आएका नेता नेपालले काँग्रेसप्रति तिखो आलोचना गर्दै भने, ‘कांग्रेस आफ्नै अहंकार, कार्यशैली, नेतृत्वको अक्षमता, अदुरदर्शीता र पूर्वाग्रहीको कारणले नेपालको राजनीतिमा आफंै पतनको बाटोमा गयो, अब काँग्रेसको पतनलाई कसैले रोक्न सक्दैन्, जनता पनि कांग्रेसको पतन नै चाहन्छन् ।’

Advertisement

Advertisement

Advertisement