ट्रान्सफर्मर खरिद प्रकरण: पूर्व मुख्यसचिवसहित तीन जनामाथि अख्तियारले लियो बयान

Advertisement

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता भएको भन्दै पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनासँग वयान लिएको छ ।

आयोगले आज पूर्व मुख्यसचिव क्षेत्री, पूर्व ऊर्जासचिव विश्वप्रकाश पण्डित र बहालवाला सचिव अर्जुनकुमार कार्कीसँग बयान शुरु गरेको हो । आयोगका एक उच्च अधिकारीका अनुसार गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरी राज्यको स्रोत दुरुपयोग गरेको र कारबाही गर्नुपर्नेलाई जोगाउन परामर्शदाता नियुक्त गरी आयोगको काम कारबाही प्रभावित पार्न खोजेको अनुसन्धानबाट खुलेपछि पुनः वयानका लागि बोलाइएको हो ।

ट्रान्सफर्मर खरिदमा रु तीन करोडभन्दा बढीको भ्रष्टाचार भएको अनुसन्धानबाट खुलेको थियो । सो विषयमा आयोगले प्राधिकरणका केही अधिकारीमाथि यसअघि नै मुद्दा चलाएइको थियो । विशेष अदालतमा कायम रहेको मुद्दालाई प्रभावमा पार्न परामर्शदाता नियुक्त गरी भ्रष्टाचारजन्य गतिविधिलाई सहयोग गरेको आयोगको भनाइ छ ।

तत्कालीन ऊर्जा सचिवको हैसियतले क्षेत्री, पण्डितलाई बयानका लागि बोलाइएको जानकारी दिँदै आयोगले कार्कीलाई भने प्राधिकरणको पूर्व कार्यकारी निर्देशकको हैसियतले बयानका लागि बोलाइएको जनाएको छ ।

आयोगका अनुसार २०७० साल भदौ २९ गते ट्रान्सफर्मर अनियमितता प्रकरणका मुद्दा चलाउने भनी आयोगले निर्णय गरेको थियो । सो निर्णयलगत्तै प्राधिकरणले मध्यस्थता गरी आयोगले गरिरहेको काम प्रभावित पार्न खोजेको र विवादित निर्णय गराई रु तीन करोड हाराहारीमा अनियमितता गरेको ठहर गरिएको आयोगका अधिकारीले जानकारी दिए ।

ती अधिकारीका अनुसार ट्रान्सफर्मर खरिदका क्रममा भएका विषयलाई प्रस्ट रुपमा आयोगलाई जानकारी नगराए वा आयोगले सोधेको प्रश्नको वस्तुनिष्ट उत्तर नदिए तीनै जनामाथि भ्रष्टाचारको मुद्दा चल्नेछ ।

Advertisement

Advertisement

Advertisement