डोल्माको नाममा संकलित रकम डोल्मालाई नदिएर आफ्नो कोषमा राखेको एनआरएनएले स्वीकार्यो

Advertisement

काठमाडौंः हत्या आरोपमा कुवेतमा मृत्युदण्डको सजाय सुनाइएकी नेपाली चेली डोल्मा शेर्पा बचाउका लागि भन्दै संकलन गरिएको रकम डोल्मालाई नदिएर आफ्नो आपतकालिन वैदेशिक रोजगार कोषमा जम्मा गरिएको गैरआवासीय नेपाली संघले स्वीकार गरेको छ ।

डोल्मालाई बचाउन भन्दै संघको पहलमा विश्वभरका नेपालीहरुले दिएको लाखौं रुपियाँ सहयोग रकम बेपत्ता पारिएको बखरहरु बाहिर आएपछि संघले नै उक्त रकम डोल्मालाई नदिएर आफ्नो कोषमा राखेको खुलासा गरेको हो ।

डोल्मा बचाउ अभियानमा विश्वभरका नेपालीहरुबाट ३७ लाख ४९ हजार भन्दा बढि संकलन भएकोमा त्यसमध्ये तीन लाख डोल्माले हत्या गरिएको भनिएको परिवारलाई र तीन लाख डोल्माको छोराको अध्ययनको लागि दिएर बाँकी संघका पदाधिकारीले आपतकालिन वैदेशिक रोजगार कोषमा राखिदिएका थिए । हत्या गरिएको भनिएको परिवारलाई बाँकी १० लाख रकम नेपाल सरकारले दिएको थियो ।

मृत्युदण्डको सजाय सुनाइएकी डोल्मा जेल सजाय काटेर नेपाल फर्किएपछि उनको नाममा संकलित लाखौं रुपियाँको खोजी सुरु भएको थियो । संघले यस तथ्यलाई हालसम्म लुकाएर राख्दै आए पनि सबैको चासो र खोजीको विषय भएपछि आइतबार प्रेस विज्ञप्ति जारी गरी पैसा संघका पदाधिकारीले नदिएको र अन्य यस्ता पीडितलाई दिन कोषमा राखिएको जानकारी गराएको हो ।

सहयोग गर्नेहरुले डोल्माका लागि भनेर दिएको रकम उनले नै पाउनुपर्ने सामाजिक सञ्जालमा धेरैको तर्क देखिन्छ । त्यो भन्दापनि अहिलेसम्म डोल्माको नाममा संकलन भएको रकमबारेको सुचना गोप्य राखिनुले धेरैमा आशंका जन्माएको हो ।

संघका निवर्तमान अध्यक्ष शेष घलेले उक्त रकम संघको कोषमा रहेको आफूलाई थाहा नभएको र तत्कालिन महासचिव तेन्जी शेर्पाबाट जानकारी लिएपछि थाहा भएको भन्दै बाँकी रकम संघको हालै सम्पन्न विश्व सम्मेलनका क्रममा सम्वन्धित पीडितलाई प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।

तर सम्मेनलमा उक्त रकम पीडित परिवारलाई बुझाइएको कुनै जानकारी बाहिर आएको छैन । संघ नेतृत्वले डोल्माको नाममा संकलित सहयोग रकम किन आफ्नो कोषमा राखेर सम्वन्धित परिवारलाई दिन चाहेन ? भन्ने कुरा सबैको चासोको विषय बन्दै आएको छ ।

दस वर्षअघि एक फिलिपिनो युवतीको हत्या अभियोगमा कुवेतमा मृत्युदण्ड सजाय सुनाइएकी डोल्मा आफू आर्थिक संकटमा रहेको बताउँदै आएकी छन् ।

Advertisement

Advertisement

Advertisement