चुनावी सुरक्षा रणनीति बुझ्न गृहसचिव प्रहरी मुख्यालयमा

Advertisement

काठमाडौं: गृहसचिव नियुक्त भएपछी पहिलो पटक मोहनकृष्ण सापकोटाले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणकै दौरानमा उनले प्रहरी मुख्यालयले आगामी प्रतिनिधि र प्रदेश सभाका लागि तयारी गरिएको सुरक्षा रणनीतिबारे जानकारी लिएका छन्।

प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै सचिव सापकोटाले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै संयन्त्र तयारी हालत रहन निर्देश गरे ।

सरकारको नीति अनुसार सुरक्षा प्रदान गर्ने कार्यमा लाग्न निर्देशन दिँदै गृहसचिव सापकोटाले अपराध नियन्त्रण, भयमुक्त समाजको निर्माण, नागरिकलाई सुरक्षाको अनुभूति दिलाउँदै प्रहरीको छविलाई अझै राम्रो बनाउनुपर्ने उल्लेख गरे ।

राम्रो काम गरेमा थप सुविधा र नराम्रो काम गरेमा दण्ड सजायको भागिदार हुनुपर्ने समेत उनले बताए ।

"हरेक नागरिकको घरआँगनमा पुग्ने प्रहरी संख्यात्मक भन्दा पनि क्षमता बिकास, विज्ञान प्रविधिको प्रयोग गरी नयाँ तरीकाले गुणस्तरीय काम गर्दै अगाडि बढेमा राम्रो उपलब्धी हासिल हुने सापकोटाले बताए ।

गृहसचिव सापकोटाले प्रहरी सेवालाई अझै बढी सशक्त बनाउन नेपाल प्रहरीका रचनात्मक सुझाव कार्यान्वयन गर्न संयन्त्र बनाई समस्या समाधान गरिने बताए । संघीयतालाई सुरक्षाको हिसावले कार्यान्वयन गर्ने क्रममा अन्य सुरक्षा निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालयकोतर्फबाट नेपाल प्रहरीको प्रशासनिक एवं समसामयिक गतिविधिको प्रस्तुतीकरण गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरीको विकासक्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षाका बारेमा विस्तृत जानकारी दिए ।

सो क्रममा प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको संरचना, मानवस्रोत व्यवस्थापन, प्रहरी इकाईगत सञ्जाल, कार्यगत समूह, प्रहरी तालिमको स्थिति तथा कार्ययोजनाबारे प्रस्तुतिकरण दिएका थिए।

प्रहरी महानिरीक्षक अर्यालले प्रहरी कार्यका विशिष्टिकृत एकाईहरु, प्रहरी सवारी साधनको अवस्था, केन्द्रीय परिचालन कक्ष, विपद उद्धारमा नेपाल प्रहरी, सवारी दुर्घटनाको संख्यात्मक स्थिति, ट्राफिक कारवाही, सवारी व्यवस्थापन, भौतिक संरचना, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सदस्य निर्वाचन, संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागिता लगायतका बिषयमा समेत प्रस्तुतीकरण गरेका थिए ।

गृहसचिव सापकोटा प्रहरी प्रधान कार्यालयमा प्रवेश गर्दा प्रहरी महानिरीक्षक प्रकाश अर्याल तथा बरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरेका थिए।

Advertisement

Advertisement

Advertisement