फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी

Advertisement

बेंसीशहरः बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन । बेंसीशहर नगरपालिका–३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लागेकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ ।

पुख्र्यौली घर घनपोखराबाट १५ वर्षअघि बेँसीशहर झरेकी हुमा शुरुमा एउटा निजी विद्यालयमा पउथिन । केही वर्ष पढाएर गुरुङले एउटा गैरसरकारी सस्थामा काम गरिन । त्यहाँको जागिर पनि छोडेर गुरुङले तीन वर्षअघिबाट पुष्प व्यावसाय शुरु गरेकी हुन् । पुष्प व्यवसाय शुरु गरेकी गुरुङ जिल्लामै एक्लो हो । उनले यसलाई सम्भावनाको पेशाका रुपमा चिनाएकी छिन् । शुरुमा फूल व्यवसाय पनि हुन्छ र रु भनेर गुरुङको खिल्ली उडाउनेहरु अहिले उनकै नर्सरीमा फूल किन्न पुग्ने गर्दछन् ।

“फूलको पनि खेती हुन्छ र भन्नेहरु अहिले सबैभन्दा महँगो फूल किन्न आउने गरेका छन्,” गुरुङ भन्छिन् । पुष्प व्यवसायबाट नैै मासिक दुई लाखदेखि तीन लाख रुपियाँ सम्म आम्दानी गर्न सकेको उनले बताइन् । फूल, बिरुवा, दुवो र बगैँचा सजावटबाट नै मनग्य आम्दानी हुने गरेको गुरुङको भनाइ छ । “एकै दिनमा डेढलाख रुपैयाँसम्मको फूल बिक्री गरेकी छु”, उनले भनिन्, “अरु बेला सामान्यतया दैनिक पाँच हजारदेखि दश हजार रुपियाँ सम्मको बिक्री हुन्छ ।”

करिब आठ रोपनी जमिनमा उनले मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गर्दै आएकी हुन् । उनले पछिल्लो समय दुवोको समेत व्यवसाय शुरु गरकी छिन् । फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि उनले झण्डै ५० लाख रुपियाँ लगानी भएको बताउछिन् । “मैले अपेक्षा गरेको भन्दा निकै राम्रो व्यापार भएको छ”, गुरुङले भनीन्, “ग्राहकको मागलाई थेग्न निकै मुस्किल परेको छ ।”

बिहानदेखि साँझसम्म आफ्नै बारीमा खट्ने गुरुङले अहिले दुईजनालाई रोजगारीसमेत दिएकी छिन् । त्यो बाहेक फूल रोप्ने बेला ज्यालामा खेताला समेत लगाउने गरेको उनले बताइन् ।

Advertisement

Advertisement

Advertisement