मैले १ नम्बर प्रदेशकै नेतृत्व गर्ने तयारी गरिरँदा आफ्नो क्षेत्रको मात्रै कुरा नगरौंः घिमिरे

Advertisement

नेकपा एमालेको तर्फबाट राजनीतिमा झण्डै तीन दशकदेखि क्रियाशील जीवन घिमिरेले आउँदो प्रादेशिक निर्वाचनमा मोरङ क्षेत्र नं. ४ (ख)बाट वामपन्थी गठवन्धनबाट आफूलाई प्रस्तुत गरेका छन् । स्कुले जीवनदेखि नै राजनीतिमा होमिएर विद्यालयस्तरमै स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका उनलाई तत्कालिन पञ्चायति व्यवस्थाले सर्वश्व हरणसहित जन्मकैदको फैसलासमेत सुनाएको थियो । प्रदेशसभा सदस्य विजयी भएर प्रदेश नं. १ को मुख्यमन्त्री हुने योजनामा रहेका घिमिरेले आफ्ना एजेण्डा त्यसैलक्षित बनाउँदै प्रदेश नं. १ र यस क्षेत्रका जनताका लागि आफूले काम गर्दै आएको बताउँछन् । प्रदेश नंं १ बाट प्रदेश सभाको चुनावी प्रतिस्पर्धामा उत्रिएका अन्य प्रत्यासीहरुमा वरिष्ठतम् सूचीमा रहेका घिमिरे आफू विजयी हुनेमा निश्चिन्त छन् । उनीसँग कर्पोरेट नेपालले गरेको कुराकानीको सार प्रस्तुत छः

  • तपाईंको उम्मेदवारी किन ?


मैले लामो राजनीतिक यात्रा पूरा गरेको छु । देश र जनताका लागि, पार्टीका लागि । म अहिलेसम्म कुनै राजकीय पदमा गएको छैन । पार्टीमा मात्रै रहेर जनताका लागि काम गर्ने कुरामा धेरै सीमा हुन्छन । त्यो भएर मेरो पार्टी या भनौं अहिलेको गठवन्धनले मलाई विश्वास गरेर या भनौं योग्य सम्झिएर म उम्मेदवार भएको हो । किन भने सबै अवसरहरु छोडेर राजनीतिमा लागेकाहरुको लक्ष्य वा उद्देश्य भनेको राजकीय पदमा रहेर देश र जनताका लागि सेवा गर्ने हो । त्यसका लागि को इमान्दार छ ? को योग्य छ ? भनेर छान्ने काम भोलि निर्वाचनका क्रममा जनताले आफ्नो अभिमतबाट देखाउने कुरा छँदैछ । म के कुरामा विश्वस्त छु भने मैले अहिलेसम्म जति पनि कर्म गरेको छु, आफ्नो क्षेत्रका लागि मात्रै नभएर १ नम्बर प्रदेशका लागि नेतृत्व गर्न पर्याप्त छ । जनताको विश्वास जित्नका लागि पर्याप्त छ ।

  • लामो राजनीतिक यात्रा पूरा गरें भन्नुभयो । के के गर्नुभयो बताइदिनु न ?


म राजनीतिमा लागेको ३५ बर्षभन्दा बढि भयो । यो भनेको निकै लामो समय हो । झापामा विद्यालयमा अध्ययन गर्दा नै स्वतन्त्र युनियनको सभापति हुन सफल भएको थिए । मलाई सबै साथीहरुले सर्वसम्मत स्ववियुको नेतृत्व चयन गर्नुभएको थियो । अनेरास्ववियुको प्रथम झापा सम्मेलनको आयोजक समितिमा रहेर काम गर्दै पूर्वी नेपालको किसान आन्दोलनमा सक्रिय सहभागी भएँ । सोही क्रममा म पक्राउ परें र दुई महिना जेल हालियो । पछि २०३९ सालमा ज्यान मार्ने उद्योग गरेको भन्दै झुट्टा मुद्दा लगाउने, राजकाजको मुद्दामा जन्मकैद र सर्वश्वहरणको फैसला गर्ने जस्ता काम भयो तत्कालिन व्यवस्थाबाट । त्यसपछि लामो समय कष्टपूर्ण भूमिगत जीवन बिताउनुपर्यो । एसएलसी पनि मैले भूमिगतरुपमै दिएको हो ।

त्योबाहेक मैले अनेराववियुदेखि युवा संघ पार्टीका विभिन्न तहमा रहेर काम गरेको छु । ती सबै अहिले भन्दा लामो हुन्छ । मु्ख्य कुरा म पार्टीको जुन जुन भूमिकामा भए पनि जनताको काममा निरन्तर सक्रिय छु । विकास निर्माणका मुद्दादेखि जनताका व्यक्तिगत समस्याहरुलाई आफ्नो बलबुताले र पार्टीको तहबाट समाधान गर्न सक्रिय रहेको छु । मैले उम्मेदवारी दिएको क्षेत्र मात्रै नभएर पूर्वी क्षेत्रका जनताले समेत महशुस गरेको हुनुपर्छ भन्ने मलाई लाग्छ । प्रदेश नम्बर १ बाट जति पनि उम्मेदवारी परेको छ, त्यसमा म दावाका साथ भन्छु, कसैको भन्दा मेरो योगदान कम छैन । यति योगदान भएपछि जनताबाट मलाई अन्याय होला भन्ने मलाई लाग्दैन ।
योगदान हेरेर जनताले न्याय गर्ने आशा छ ।

  • तर, जनताले अहिले उम्मेदवारका एजेण्डालाई, भावी योजनालाई पनि हेर्छन । तपाईंसँग त्यस्तो एजेण्डा के छ ?


मसँग प्रशस्त्र योजना छ । मैले सार्वजनिक कार्यक्रमहरुमा पनि भन्दै आएको छु मैले आफ्नो क्षेत्रलाई मात्रै नहेरेर समग्र १ नम्बर प्रदेशका लागि विकासका योजना बनाएको छु । अबको समय भनेको आर्थिक विकासकै हो । राजनीतिक लडाईं अब सकिएको छ । सक्नु पनि पर्छ । किनभने व्यवस्थाका नाममा लामो र महत्वपूर्ण समयको खासै सदुपयोग हुन सकेन । अबको नेतृत्व गर्ने पुस्ता यस्ता राजनीतिक विवादमा अल्मिलिनु हुँदैन । कस्ले राम्रो गर्ने कस्ले बढि विकास गर्ने भन्नेमा स्वस्थ प्रतिस्पर्धासम्म ठिकै हो । तर, आशैआशामा बसेका जनतालाई अबका दिनमा निराश बन्ने दिने काम हामीले गर्न हुन्न । म गर्दिन ।

मैले समग्र प्रदेश नम्बर १ को नेतृत्व गर्ने योजना बनाएकाले आफ्नो निर्वाचन क्षेत्रको मात्रै कुरा गर्नु संकुचित हुन्छ । मैले प्रदेशको नै नेतृत्व गर्छु भनिरहँदा आफ्नो क्षेत्रको मात्रै नगरौंहोला । आफ्नो निर्वाचन क्षेत्रको विकास जहिले नै पहिलो प्राथमिकता हुन्छ । मेरो क्षेत्र विराटनगरसँग पनि जोडिएकोले यो ठाउँलाई आइटीको हव (सुचना प्रविधिको केन्द्र)को केन्द्र बनाउने सोचाई छ । किनभने अबको विकास भनेको सुचना प्रविधिको हो । जसले सुचना प्रविधिका क्षेत्रमा नयाँ नयाँ विकास, खोज अनुसन्धान गर्नसक्छ, त्यही मुलुकको विकासको गति उच्चदरको हुन्छ । आइटीको हब बनाउन विराटनगर उपयुक्त स्थान पनि हो ।

अर्को कुरा सरकारी विद्यालयहरुको गुणस्तर बिग्रिँदै गएको छ । हाम्रो न्यूनआयस्तरका जनताका छोराछोरी तिनै विद्यालयमा अध्ययन गर्छन । उनीहरुलाई निजी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन त्यस्ता सरकारी विद्यालयको शिक्षाको गुणस्तर विकास गर्नेदेखि भौतिक संरचनाहरु राम्रो बनाउन मैले प्रविधिबाटै अध्ययन अध्यापन गराउने विधिको विकास गर्ने सोचमा छु । म यसको बारेमा धेरै नबताउँहोला । किनभने भोलि मैले गरेर देखाउने छु । नयाँ प्रविधिबाट हाम्रा विद्यार्थीहरुले कितावविना पनि राम्रोसँग अंग्रेजी र नेपाली पढन सक्ने बनाउनुपर्नेछ ।

जोगवढी–कटारी प्रवेश गर्ने रेलसेवाको काम प्रारम्भ भए पनि काममा ढिलाई भइरहेकोले यसलाई समयमा सम्पन्न गर्न मेरो पहल रहनेछ । विराटनगरलाई अन्तर्राष्ट्रियस्तरको आइटी पार्क बनाउने मेरो योजना हुँदाहुँदै पनि यो शहर भनेको पूरानो औद्योगिक क्षेत्र हो । तर, यहाँका अधिकांश उद्योगहरु रुग्ण अवस्थामा सञ्चालित हुँदैछन् । उनीहरुलाई सञ्चालनको सहज र सुविधायुक्त बाताबरण बनाइदिने र थप उद्योगहरु खोल्न प्रोत्साहित गर्ने काम मैले गर्नेछु । अर्को मेरो महत्वपूर्ण योजना भनेको किमाथान्का–जोगबनी जोडेर चाँडै सञ्चालनमा ल्याउने । यो भयो भने १ नम्बर प्रदेशको विकासले अरु प्रदेशहरुलाई नै उछिन्ने छ । यो क्षेत्रको विकासको ढोका खोल्ने छ ।

हिमाली क्षेत्रको विकासका लागि त्यस क्षेत्रका जिल्लाहरु जोड्ने छुट्टै राजमार्ग बनाउने, मध्यपहाडी लोकमार्गलाई चाँडै सम्पन्न गर्ने मेरो सोचाई छ । १ नम्बर प्रदेश पर्यटकीय हिसावले पनि राम्रो संभावना भएको क्षेत्र हो । सगरमाथादेखि बराह क्षेत्रसम्म यहीँ छ । पर्यटकीय पूर्वाधारहरुको विकास गर्न सकियो भने यो प्रदेश आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक ठाउँ बन्छ । यहाँको चिया बगाानहरु हेर्न नै कति मानिस रुचाउँछन, हेर्नु न । अर्को कुरा भनेको कृषिको विकास हो । खाद्यान्नको आयात बढ्दै गएको छ नेपालको । अर्कोतर्फ खाद्य सुरक्षाको कुराहरु आइरहेका छन् । कृषिको आधुनिक विकासमार्फत यो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने मेरो सोचाई छ । मेरो योजनाहरु अहिले यति नै सम्झिएँ ।

  • तपाईंले प्रदेशकै नेतृत्व गर्ने भन्दै हुनुहुन्छ ? त्यसको आधारहरु बताइदिनु न ?


आधार प्रशस्त छ । मैले पहिले नै भने विगत ३०–३५ बर्षदेखि मैले प्रजातान्त्रिक आन्दोलन, परिवर्तनको आन्दोलनमा गरेको योगदान, यस क्षेत्रमा विकास प्रयासमा मैले खेल्दै आएको भूमिका, पार्टीप्रतिको निष्ठाको राजनीति जस्ता कुराहरुले मैलाई यो प्रदेशको नेतृत्व गर्न रोक्ने ठाउँ छैन । कसैले मलाई नैतिकरुपमा पनि प्रश्न उठाउने ठाउँ छैन । सबैभन्दा ठूलो कुरा जनताको विश्वासको कुरा हो । मैले यो क्षेत्रका जनताको विश्वास जितेको छु । यो क्षेत्रको म परिचित व्यक्ति हो । हरेक युवादेखि वृद्धिसम्म मैले भिज्ने, उनीहरुका सुःखदुःखमा साथ दिने काममा कन्जुस्याँइ गरेको छैन ।

मैले आफ्नो क्षेत्रमा जितेर प्रदेशको नेतृत्व गर्ने महत्वपूर्ण आधार भनेको वामपन्थी दलहरुबीचका् एकता पनि हो । मेरो क्षेत्र मोरङ क्षेत्र नं. ४ (ख) मात्रै नभएर पूर्वी क्षेत्र पहिलेदेखि नै एमाले बलियो भएको क्षेत्र हो । अहिले माओवादी केन्द्रसमेत एक भएपछि हामी अझै बलियो भएका छौं । यो क्षेत्रमा हाम्रो विजयलाई कसैले रोक्न सक्दैन ।

  • वामपन्थी एकता अहिले आवश्यक हो । वामपन्थीले नै जित्नपर्छ भन्ने कुरामा तपाईंको तर्क के छ ?


हेर्नुस । हाम्रो आवश्यकता भनेको विकास हो । शान्ति हो । मुलुकमा स्थिरता हो । सुशासन हो । प्रजातन्त्र ल्याउन हामीले धेरै संघर्ष गर्नुपर्यो । त्यो आवश्यक पनि थियो । पछिल्लो समयमा धेरै समय द्धन्द्ध र राजनीतिक विवादमा समय खेर गयो । छिमेकी र अन्य मुलुकहरु तीब्र विकासमा लम्बिएको बेला हामी कहिले लोकतन्त्र, कहिले गणतन्त्र, कहिले संविधान भन्दैमा गयो । अब संविधान बनिसकेपछि अबको समय खेर फाल्न हुन्न । त्यो मुलुकको लागि दुर्भाग्य हुन्छ । जनतालाई अझै कष्ट दिने, गरिवीमा राख्ने कुरा कम्तिमा हामी वामपन्थी दलहरुलाई स्वीकार्य छैन । जनता स्थिर सरकार चाहान्छन । स्थिर सरकारले नै मुलुकमा विकास संभव छ । दुई दलहरु एमाले र माओवादी एक हुने भएपछि वामपन्थी गठवन्धन नै अहिले बलियो शक्तिको रुपमा देखा परेको छ । जनता चाहान्छन स्थिर सरकारका लागि एउटा पार्टीलाई बहुमत दिनुपर्छ यस पटक । त्यो माहौलले गर्दा जनता एमाले–माओवादीको गठवन्धनलाई बहुमत दिउँ भन्नेमा पुगेका हुन । सँगसँगै यिनीहरुले नै देश र जनताको हितका लागि अडान लिनसक्छन्, छिमेकी मुलुकहरुसँग सन्तुलित सम्वन्ध कायम राख्न सक्छन, विकास गर्नसक्छन् भन्ने विश्वस गएको नाकाबन्दी, त्यसपछि भारत र चीनसँग भएको समझदारीहरुले प्रष्ट भएको छ । जनताले यी कुराहरुलाई बुझेका छन् । उनीहरुले नियालीरहेका छन् । त्यो भएर काँग्रेस जति नै गलत प्रयास गरे पनि जनताले विश्वास गर्नेवाला छैनन । वामपन्थी गठवन्धनको बहुमत निश्चित छ ।

Advertisement

Advertisement

Advertisement