चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण, मनमोनहन र नेशनलले तत्काल सम्वन्धन नपाउने

Advertisement

काठमाडौंः डा. गोविन्द केसीको चेतावनीपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गर्न बाध्य भएकी छन् । यससँगै प्रस्तावित मनमोहन मेडिकल कलेज र काठमाडौं नेसनल मेडिकल कलेजले सम्बन्धन पाउने बाटो पनि तत्काललाई समाप्त भएको छ ।

यी मेडिकल कलेजले आगामी १० वर्षपछि चिकित्सा शिक्षा आयोग र स्वास्थ्य मन्त्रालयले तयार पार्ने मापदण्डअनुसार तीन वर्षसम्म अस्पताल सञ्चालन गरेपछि मात्रै सम्बन्धन पाउनेछन् । संसद्बाट पारित हुन नसकेपछि सरकारले चिकित्सा शिक्षा विधेयकलाई कात्तिक ६ मा अध्यादेशका रूपमा ल्याएको थियो ।

उक्त अध्यादेश प्रमाणीकरणका लागि सरकारले राष्ट्रपतिसमक्ष पठाएको थियो । तर, प्रमाणिकरणमा राष्ट्रपतिबाट ढिलाई भएपछि डा. केसीले उनीविरुद्ध सत्याग्रह सुरु गर्ने चेतावनी दिएका थिए । यी दुवै अस्पताल एमाले निकटका मानिन्छन् । मनमोहनले मापदण्ड पूरा गरेर पनि उपत्यकामा सञ्चालनका लागि सम्बन्धन पाएको थिएन भने नेसनलले मापदण्ड नै पूरा गरेको थिएन ।

विधेयक प्रमाणीकरण भएसँगै चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि लामो समयदेखि संघर्षरत डा. केसीको मुल माग सम्बोधन भएको छ। उनले अध्यादेश प्रमाणिकरणले आमनेपालीको पहुँचमा गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुग्ने बाटो खुलेको बताएका छन् ।

गत कात्तिक १ मा डा. केसीको १३ औं अनशन तोडाउने क्रममा सरकारले उनीसँग चिकित्सा शिक्षा ऐनलाई अध्यादेशका रूपमा ल्याउने सम्झौता गरेको थियो । सम्झौताअनुसार केसीले चाँडै अध्यादेश ल्याउन आग्रह गर्दै आएका थिए । विधेयक जारी भए पनि संविधानअनुसार तीन महिनाभित्र संसद्बाट पास नभए स्वतः खारेज हुन्छ ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमाको संयोजकत्वमा गठित कार्यदलको सुझावलाई समेटेर तयार गरिएको चिकित्सा अध्यादेशमा उपत्यकामा आगामी १० वर्ष नयाँ मेडिकल कलेजले सम्बन्धन नपाउने, एक विश्वविद्यालयले पाँचवटा मात्र मेडिकल कलेजलाई सम्बन्धन दिन पाउने, एक प्रदेशमा एउटा मात्र मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, सकरारी मेडिकल कलेजमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्ने, नर्सिङ क्षेत्रमा आवश्यक नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, एमबीबीएस, डेन्टललगायत कार्यक्रममा एकीकृत वार्षिक शैक्षिक क्यालेन्डर लागू गर्ने जस्ता कुराहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement