नेपाल र युएईबीच श्रम सम्झौताको तयारी

Advertisement

काठमाडौंः नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुंगो लाग्ने जानकारी दिए ।

उनले भने, “हामीले पठाएको श्रम सम्झौताको खाकामा युएईले आफ्नो धारणासहित परिमार्जनको खाका पठाएको छ, हामी अध्ययनकै क्रममा छौँ ।” युएईले पठाएको खाकाबारे श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिरहेको छ । गत महिना जोर्डनसँग भएको श्रम सम्झौताअनुरुपकै खाकामा युएईसँग पनि सम्झौताको तयारी भइरहेको छ ।

सम्झौतामा कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, न्यूनतम तलब, आपूर्ति प्रक्रियालगायतका विषय समावेश हुनेछ । युएईसँग हुने सम्झौतामा साधारण कामदारका साथै घरेलु कामदारको विषयमा समेत छुट्टै सम्झौता गर्ने तयारी भइरहेकोे प्रवक्ता आचार्यले जानकारी दिए ।

सम्झौतामा युएईमा रोजगारीका लागि जाने नेपाली कामदारलाई निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था उल्लेख गरिने छ । सुरक्षित र मर्यादित श्रम तथा कामदारको हकअधिकारसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डलाई पालन गर्न सम्झौताले सहयोग पुग्नेछ । नेपालले रोजगारीका लागि एक सय आठ मुलुक खुला गरे पनि हालसम्म कतार र जोर्डनसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ ।

बहराइन, दक्षिण कोरिया, युएई र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

Advertisement

Advertisement