गौचन हत्याका संलग्न सुटरसहित पाँचजना पक्राउ, मुख्य योजनाकार समीरमान भने अझै फरार

Advertisement

काठमाडौंः नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुटरसमेत रहेका छन् ।

तर घट्नाको मुख्य योजनाकारहरु भने अझै फरार छन् । पटक पटक फिरौती रकम माग गर्दा नदिएपछि गौचनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका २१ बर्षीय राजिव सेङताङ, पर्सा कालिमाई गाउँपालिका १ का ३५ बर्षीय शिवजी महतो, भारत बिहारको चौबेटोला ७ का २४ बर्षीय मुकेशकुमार पाण्डे, पर्सा ठोरी ५ का १८ बर्षीय सन्तोष गुरुङ र काठमाडौं नागार्जुन ४ का २२ बर्षीय प्रकाश बुढाथोकी छन् ।

Advertisement

राजिव गौचनलाई गोली हान्ने सुटर भएको यस घटनासम्वन्धमा सरकारद्धारा गठित अनुसन्धान समितिका संयोजक प्रहरी नायव महानिरीक्षक गणेश केसीले बताए । उनका अनुसार महतो, पाण्डे र गुरुङ हतियार तथा मोटरसाइकल व्यवस्थापनको भूमिका खेलेका थिए । बुढाथोकीले सहयोगी भूमिका खेलेका थिए ।
घटनाका मुख्य योजनाकारहरु समीरमानसिंह बस्नेत र मनोज पुनसहित आठ जना अझै फरार छन् । उनीहरुकै निर्देशनमा पक्राउ परेकाहरुले गौचनको हत्या गरेर भागेका थिए । अन्य फरार अभियुक्तहरुमा लोप्साङ, बोका भन्ने गंगा लिङदेन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाई भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा छन् । पक्राउ परेका बुढाथोकी समीरकै आफन्त पर्ने हुन । घटनामा दुईवटा मोटरसाइकल प्रयोग भएको छ भने हतियार पनि भारतबाटै ६५ हजारमा खरिद गरी ल्याइएको थियो ।हतियार खरिद गर्ने काम महतोले गरेका थिए । प्रहरी अनुसन्धान अनुसार गोली फरक फरक हतियारबाट चलाइएको देखिन्छ । भारतबाटै चोरी गरी ल्याइएको होण्डा साइन ब्राण्डको मोटरसाइकल नेपाली नक्कली नम्बर प्लेट बा ३५ प २४६१ राखी प्रयोग गरिएको थियो ।महतोले भारत १८ हजार भारुमा खरिद गरी श्याम गुम्बेलाई २४ हजारमा बिक्री गरेका थिए । अभियुक्तहरुले घटना घटाउनुभन्दा एक महिना पहिलेदेखि गौचनलाई निगरानीमा राख्दै आएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा केसीले बताए ।घटनाको मुख्य उद्देश्य प्रहरीका अनुसार गौचन हत्याको मुख्य कारण फिरौती हो । गौचनसँग पटक पटक रकम माग्दा पनि उनले दिन अस्वीकार गरेपछि हत्या गरेको देखिएको छ । गौचनले फिरौतीका लागि पटक पटक फोन र धम्की आउने गरे पनि त्यसको जानकारी परिवारलाई दिएका थिएनन् । जसका कारण कति रकम फिरौती मागिएको खुल्न नसकेको प्रहरीको भनाई छ ।बस्नेत र पुन को हुन ? भारतको बिहारमा बस्दै नेपालमा चन्दा र फिरौती अशुली धन्दा गर्दै आएका बस्नेत र पुन संगठित भूमिगत अपराधिक समूह हो । यही समूहले लुम्बिनीमा एमालेनिकट युवा संघका अध्यक्ष दुर्गा तिवारीलाई लुम्बिनीमा हत्या गरेका थिए । यो समूहका नाइकेहरुलाई प्रहरीले निकै प्रयास गर्दा पनि पक्राउ गर्न सकेको छैन । घट्ना घटाएपछि उक्त समूहले आफै प्रहरीलाई घटनाको जिम्मेवारी लिएर जानकारी गराउने गरेको छ ।

Advertisement

Advertisement