'ज्योतिषीले मलाई सातौं पटकसम्म प्रधानमन्त्री हुन्छस् भनेका छन्'

Advertisement

धनगढीः प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशभरि शान्ति सुरक्षाको व्यवस्था सुदृढ र चुस्त पारिएकाले आगामी निर्वाचनमा निर्धक्कसँग मतदानमा सहभागी भएर निर्वाचन सफल पार्न अपिल गरेका छन् ।

नेपाल प्रेस युनियनले आज गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनतालाई सरकार बदल्ने र बनाउने अधिकार भएकाले कसैको डर, त्रास, धम्की, दबाब, लोभलालचमा नलागी चुनावमा सहभागी हुन आह्वान गरे ।

उनले जनता प्रजातन्त्र र विकास चाहने भएकाले सुदूरपश्चिमका जनताले विकास गर्ने पार्टी काँगे्रेसलाई निर्वाचनमा रोज्ने उल्लेख गरे । पत्रकारको एक प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने, “देश डर त्रासबाट मुक्त समाज भइरहेका बेला बनाइएको वाम गठबन्धनबाट डर त्रासको शासन आउने, कम्युनिस्ट अधिनायकवाद र तानाशाही आउँछ कि भनेर जनता डराएका छन् ।”

उनले आफ्नो भारत भ्रमणका क्रममा सुदूरपश्चिमको विकासमा महत्वपूर्ण योगदान दिन सक्ने पञ्चेश्वर परियोजनाको काम अगाडि बढाउने सहमति भइसकेको, गौरी फण्टा नाकाको स्तरोन्नति गर्ने, पश्चिम सेती जल विद्युत् परियोजनाको निर्माण गर्न प्रक्रियाको पहल थालिएको र उत्तरतर्फ चीनको नाका ताक्लाकोटसम्मको बाटो निर्माणकार्य भइरहेको बताए ।

अर्को एक प्रश्नमा देउवाले भन, “काँग्रेसले जितेपछि सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने म नै हुँ, अरु पार्टीका कोही प्रधानमन्त्री हुनेवाला छैनन् । विपक्षी नेताहरुले देउवा काँग्रेसका अन्तिम प्रधानमन्त्री हुन् भनेर दिएको अभिव्यक्तितर्फ टिप्पणी गर्दै देउवाले भने, “उनीहरुले भनेर हुन्छ, ज्योतिषले सातपटक प्रधानमन्त्री हुनुहुन्छ भनेको छ ।”

सभापति देउवाले अहिलेको बेला पार्टी एकजुट भएर चुनावमा होमिने बेला आएको उल्लेख गर्दै पार्टीलाई विजयी गराउन सहयोग गरेमा कारबाहीमा परेकाहरुलाई कारबाही फुकुवा हुने बताए । उनले आगामी चुनावमा काँग्रेसले बहुमत ल्याउने दाबी गरे ।

Advertisement

Advertisement

Advertisement