द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछी पर्सा निकुञ्ज वरपर रिसोर्ट खुल्दै

Advertisement

वीरगञ्ज: बाराको निजगढ आसपासमा निजगढ काठमाडौँ द्रुतमार्ग तथा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि रिसोर्ट खुल्ने क्रम बढ्दै गएको छ ।

प्रदेश नं २ को एकमात्र निकुञ्ज भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले रिसोर्ट तथा होटल खुल्ने क्रम बढ्न थालेको हो ।

आरक्षबाट निकुञ्जमा स्तरोनन्ति भएपछि यस क्षेत्रमा ठूलो लगानीमा होटलसमेत खुल्न थालेको हो । होटल व्यावसायीले स्वदेशी तथा विदेशी पर्यटकलाई तान्न ठूलाठूला लगानीमा होटल तथा रिसोर्ट निर्माण गर्न थालेका छन् ।

होटल व्यवसायी मोहन शर्माले रु दुई करोड ५० लाखको लगानीमा एलिफेन्ट भिलेज रिसोर्ट निर्माण गर्न लाग्नुभएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो रिसोर्टमा सुविधासम्पन्न कोठा, खाने बस्ने व्यवस्था पौडी पोखरी, निकुञ्ज घुमाउने पथप्रदर्शकको व्यवस्था गरिएको छ ।

करिब ६७३ वर्गकिमी क्षेत्रमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज धार्मिक तथा जैविक विविधताले भरिएको छ । सिमरास्थित चारतारे होटल इच्छाका सञ्चालक इच्छाबहादुर बाग्लेले हात्तीसार क्षेत्रमा होटल निर्माण गर्ने योजना राख्नुभएको छ । करिब रु तीन करोडको लगानीमा निर्माण गरिने सो होटल सुविधासम्पन्न हुने बताइएको छ ।

जैविक विविधताले भरिएको तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको निकुञ्जमा होटल तथा रिसोर्ट व्यवसायीको सम्भावना रहेकाले व्यवसायप्रति आकर्षित हुनु यस क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्न जाने विश्वास निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए ।

बारा र पर्साको सीमामा पर्ने निकुञ्जभित्र दुर्लभ जनावर लोप हुँदै गइरहेको पशुपक्षी हेर्न प्रत्येक वर्ष दुई हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । यस क्षेत्रको आर्थिक विकासका रुपमा रहेको दु्रत मार्ग (फास्ट ट्र्याक) र विमानस्थल निर्माण भएपछि यहाँको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

उद्योगपति प्रदीप केडियाले निकुञ्जमा होटल खुल्नु सकारात्मक भएको बताए । निकुञ्जमाथि चुनौती थपिदै गएकाले यसलाई हटाई पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

Advertisement

Advertisement

Advertisement