सेयर बजार फेरि १५ सय अंकबाट तल, किनबेच ह्वात्तै घट्यो, चुनावपछि मात्रै कारोबार बढ्ने अनुमान

Advertisement

काठमाडौंः साताको अघिल्ला तीन दिनको उत्साहजनक वृद्धिले एक हजार पाँचसय अंकबाट उक्लिएको सेयर बजार बिहीबार फेरि तलै झरेको छ । सेयर बजार परिसुचक नेप्से आज १५ दशमलव ७३ अंकले घटेको छ । बुधबार नेप्से ११ अंकले झरेको थियो ।

कारोबार रकममा पनि आज भारी गिरावट भएको छ । मंगलबार ७५ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएकोमा बुधबार र बिहीबार एक्कासी लगानीकर्ता हच्किए पनि आज कारोबार ४४ करोड रुपियाँमा सीमित भएको छ ।

सेयर बजार फेरि ओरालो लाग्ने संकेतले लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा गएका छन् । त्यसमाथि चुनाव नजिकिएको यसको परिणाम कस्तो आउने भन्ने कुराले पनि लगानीकर्ताले चुनावसम्म खरिद बिक्रीमा नजाने मनस्थिति बनाएको हुनसक्ने कतिपय विश्लेषकहरुको भनाई छ ।

विशेषगरी वित्तीय कारोबार गर्ने धेरै कम्पनीहरुको पुँजी योजना सम्पन्न भइसकेको, ती कम्पनीहरुको पहिलो त्रैमाससम्मको नाफाको स्थिति त्यति सन्तोषजनक नभएको, तरलता अभावको समस्या कायमै रहेको, बैंकहरुले ब्याजदर घटाउन आनाकानी गरेको जस्ता कारणले पनि सेयर बजार सकारात्मक दिशामा जान नसकेको अनुमान गरिएको छ ।

आजको कारोबारमा कुनै पनि समूहको उपसुचक सकारात्मक हुन सकेन । सबैभन्दा धेरै होटल समूहको उपसुचक दुई दशमलव ३८ प्रतिशतले झरेको छ भने त्यसपछि क्रमसः बाणिज्य बैंक समूह एक दशमलव ८३ प्रतिशतले, विकास बैंक एक दशमलव ५० प्रतिशतले, जलविद्युत एक दशमलव २७ प्रतिशतले घटेका छन् । बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ ।

Advertisement

Advertisement

Advertisement