देशैभर बदली, केही ठाउँमा छिटफुट बर्षा र हिमपात हुने

Advertisement

काठमाडौंः पश्चिमी न्यून चापीय प्रणालीको असरले विहीबारदेशको अधिकांश भेगमा बदली भएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीका साथै उत्तर पश्चिम बंगालको खाडीमा विकसित भएको बलियो खालको न्यून चापीय प्रणालीले नेपालमा पनि असर गरेको मौसमविद् सुवास रिमालले बताए । मौसम बदलीसँगै आज काठमाडौँ उपत्यकामा चिसो महसुस गरिएको छ ।

मौसमी प्रणालीको बदलीले तापक्रममा केही कमी आउने हुँदा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा चिसो बढ्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । “भारतको उत्तराखण्ड र जम्मु कास्मिरको हिमाली क्षेत्रमा हिमपात भएकाले सो क्षेत्रबाट बहेर आउने वायुका कारण तुलनात्मक रुपमा अबको तीन दिनसम्म चिसो बढ्ने देखिन्छ,” मौसमविद् रिमालले भने ।

उनका अनुसार न्यून चापीय प्रणालीको प्रभाव अझै एक/दुई दिन रहनेछ । बंगालको खाडीबाट आएको प्रणालीले देशका पूर्व र मध्य तथा पश्चिमी न्यून चापीय प्रणलीले पश्चिमी क्षेत्रमा बढी असर पारेको छ । यसको असर बुधबारदेखि देखिएको हो ।

मौसमी प्रणालीको प्रभावले पूर्व र मध्यका एक/दुई स्थान र पश्चिमी पहाडी क्षेत्रका केही भागमा छिटफुट वर्षाका साथै हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको तापमान न्यूनतम १० र अधिकतम तापक्रम २३ डिग्री सेल्सियस मापन भएको छ । सबैभन्दा कम जुम्लामा एक र सबैभन्दा बढी सिमरामा ३१ डिग्री सेल्सियस रहेको छ ।

Advertisement

Advertisement

Advertisement