कतारमा विदेशी कामदारलाई नेपालले तोकेभन्दा कम पारिश्रमिक तोकियो

Advertisement

दोहाः कतारले विदेशी कामदारका लागि नेपाल सरकारले निर्धारण गरेको भन्दा पनि कम न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । नेपाली कामदारको प्रमुख र
आकर्षक गन्तव्य मानिएको कतारले ७५० रियाल अर्थात २१ हजार पाँचसय रुपियाँ पारिश्रमिक निर्धारण गरेको हो ।

नेपाल सरकारले कतारका लागि नौसय रियाल अर्थात झण्डै २६ हजार रुपियाँ पारिश्रमिक हुनुपर्ने बताएको छ । कतारमा ठाउँ हेरेर नेपालीहरु कष्टपूर्णदेखि आकर्षकसम्म काम गर्दै आएका छन् । तोकिएको पारिश्रमिकमा रोजगारदाताले कामदारको खानपिन, बसोबास, स्वास्थ्य सेवा कट्टा गर्न पाउँदैन ।

कतारका प्रशासन तथा श्रमसम्वन्त्री मन्त्री डा. इसाविन साद अल जफल अल नुअमीले यो पारिश्रमिक निर्धारण अस्थायी भएको भन्दै यसमा परिमार्जन हुनसक्ने संकेत गरेका छन् । विदेशी कामदारको न्यूनतम् पारिश्रमिक निर्धारण गर्न आनाकानी गर्दै आएको कतारले अन्तर्राष्ट्रिय श्रम संगठनको दबाबमा विदेशी कामदारको अस्थायीरुपमा न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो ।

ठूलो संख्यामा विदेशी कामदारहरु कार्यरत कतारमा नेपाली मात्रै झण्डै साढे चार
लाख रहेको बताइन्छ । कतारमा कार्यरत म्यानपावर व्यवसायीहरुले भने नौसय भन्दा कम पाउने नेपाली नरहेको दावी गर्दै आएका छन् ।

वैदेशिक रोजगार विभागले न्यूनतम तलब नौ सय र खाना वापत तीन सय गरी एक हजार दुईसय रियाल तलब दिने प्रतिवद्धता जनाएका कम्पनीहरुमा मात्रै कामदार पठाउन अनुमति दिने गरेको छ । यद्यपि कम्पनीहरुले प्रतिवद्धता जनाएअनुसार कतिपयले पारिश्रमिक नदिने गरेको समाचारहरु आउने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement