मंसिर १० र २१ गते सार्वजनिक बिदा दिन आयोगको सरकारसँग आग्रह

Advertisement

काठमाडौँ: निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मतदान हुने दिन मंसिर २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ ।

मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकांश कर्मचारी निर्वाचन सञ्चालन एवं व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई आग्रह गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसैगरी, आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसमा सार्वजनिक बिदा दिनसमेत सरकारसँग आग्रह गरेको छ ।

निर्वाचनमा अधिकांश मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेका र मतदान कार्यको व्यवस्थापन कार्यका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान हुने दिनभन्दा तीन दिन अगाडि नै मतदान केन्द्रमा पुग्ने भएकाले विद्यालय तथा क्यापसमा दुवै चरणको निर्वाचनमा चार÷चार दिन बिदा दिन सरकारसँग आग्रह गरेको आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

निर्वाचन केन्द्र सामुदायिक एवं संस्थागत विद्यालय र क्याम्पस भवन तथा परिसर, स्थानीय तहका कार्यालय भवन, वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र र पशुसेवा केन्द्र लगायतका सार्वजनिक भवन तथा परिसरमा रहेका हुँदा पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १८ देखि २१ गतेसम्म उल्लेखित भवन तथा कार्यालय निर्वाचन प्रयोजनका लागि उपलब्ध गराउने व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई भनेको छ ।

पत्रकारका लागि सूचना विभागबाट जारी परिचयपत्र

यसैगरी निर्वाचन आयोगले आगामी मंंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान तथा मतगणनाको समाचार संकलन तथा छायांकनका लागि निर्वाचन आयोगबाट विशेष पासको व्यवस्था नभएको जनाएको छ ।

स्थानीय तह निर्वाचनमा जस्तै मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पनि सबै समाचारमाध्यमका पत्रकार, फोटो पत्रकारले सूचना विभागबाट जारी पत्रकार परिचयपत्रका आधारमा मतदान तथा मतगणनाको समाचार संकलन गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

मतदान तथा मतगणना हुने दिनमा सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार संकलन, छायांकन र तस्वीर लिन सकिने व्यवस्था मिलाइएको आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement