एमाले र माओवादी देशमा अधिनायकवाद लाद्न अग्रसर छ - प्रधानमन्त्री देउवा

Advertisement

बैतडी: प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्ति एक हुनुपर्ने बताएका छन् ।

आज बैतडीको पाटनमा नेपाली काँग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको रक्षाका लागि मंसिर १० र २१ गते हुने चुनावमा लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गरे ।

यहाँका नागरिकले काँग्रेसलाई साथ दिएमा अबको चुनावपश्चात् पनि आफू नै प्रधानमन्त्री हुने ठोकुवा गर्दै बैतडी डडेल्धुरालगायत पहाडी जिल्लाको विकासमा आफू लागिपर्ने अठोट गरे । आफू प्रधानमन्त्री हुँदा यहाँका नागरिकले सबै कुरा खुलस्त भन्नसक्ने र आफू पनि ती गुनासा सुन्न तयार हुने प्रधानमन्त्रीले बताए ।

अहिले देशमा एमाले र माओवादीले अधिनायकवाद लाद्न खोजेकाले मुलुकलाई जोगाउन लोकतान्त्रिक गठबन्धनको आवश्यकता रहेको चर्चा गर्दै उनले कम्युनिष्टको दबाबमा बस्ने कि प्रजातन्त्रको रक्षा गर्दै स्वतन्त्ररुपमा बस्ने त्यो निर्णय जनताको हातमा रहेको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम सुन्दर पश्चिम भएकाले बैतडीको पाटनलाई स्मार्टसिटी बनाउने र पश्चिम सेती परियोजना र पञ्चेश्वर परियोजनाको काम अघि बढाउने प्रतिबद्धता जनाए ।

उहाँले प्रदेश नम्बर ७ लाई देशकै पर्यटकीय गन्तव्य बनाउन आफूले पहल गर्ने बताए । प्रधानमन्त्री देउवाले आजै बैतडी र दार्चुलाका विभिन्न पाँच ठाउँका चुनावी आमसभालाई सम्बोधन गरेका छन् । देउवाले बैतडीको पुर्चाैडी, मेलौली, पाटनमा काँग्रेसले आयोजना गरेको चुनावी आमसभा र दार्चुलाको सदरमुकाम खलंगा र मार्मा गाउँपालिकाको लटिनाथमा भएका आमसभालाई सम्बोधन गरेका थिए ।

Advertisement

Advertisement

Advertisement