उम्मेदवार हुन आउने धनाढ्यलाई छानी छानी टिकट

Advertisement

काठमाडौँ: मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ ।पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन् ।

दुवै निर्वाचनका लागि प्रत्यक्षमा एक सय ६७ उम्मेदवार प्रतिस्पर्धामा छन्, तीमध्ये कांग्रेस, राजपा र संघीय समाजवादी फोरम नेपालको गठबन्धन तथा एमाले-माओवादी गठबन्धनका गरी ३६ जना छन् । यी तीनवटै दलले उठाएका अधिकांश उम्मेदवार धनाढ्य छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

पर्सा १ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले उद्योगपति एवं निवर्तमान सांसद अनिल रुँगटालाई उठाएको छ । दोस्रो संविधानसभाका समानुपातिक सभासद् रुँगटाको वीरगन्ज-पथलैया औद्योगिक कोरिडोरमा रहेका थुप्रै उद्योगमा साझेदारी छ । दोस्रो संविधानसभामा प्रत्यक्ष निर्वाचित राजेन्द्रबहादुर अमात्य र रुँगटाबीच मनोनयनको दिनसम्म टिकटका लागि निकै रस्साकस्सी चलेको थियो । तर, विपक्षी दलका उम्मेदवारले चुनाव जित्न रकमको ठूलो चलखेल गर्ने संकेत पाएर अन्तिम समयमा कांग्रेसले रुँगटालाई टिकट दिएको कांग्रेस पर्सा जिल्ला कार्यसमितिकै एक सदस्य बताउँछन् । यस क्षेत्रमा चुनावका लागि पैसाको ठूलै चलखेल हुने चर्चा व्यापक रूपमा चलेको छ,’ उनले भने, ‘त्यही भएर हामीले पनि उद्योगी रुँगटालाई उठाएका हौं।’

सोही क्षेत्रमा राजपा र फोरम नेपालका साझा उम्मेदवार प्रदीप यादव छन् । मधेस आन्दोलनपछि चर्चामा आएका यादवकै विशेष जोडबलमा वीरगन्ज महानगरपालिकाको मेयरमा फोरमका विजय सरावगी निर्वाचित भएका थिए । यादव पनि आर्थिक रूपमा सबल नै छन् । फोरमभित्र यस क्षेत्रका लागि अरू कोही नेता आकांक्षी नभएका कारण यादवले सहजै टिकट पाएका हुन् ।

वाम गठबन्धनबाट क्षेत्र १ मा एमालेका निवर्तमान सांसद विचारी यादव प्रतिस्पर्धामा छन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा पर्सा-२ बाट निर्वाचित भएका थिए । उनी पनि आर्थिक रूपमा सबल उम्मेदवार मानिन्छन् । पर्सा-१ मा कांग्रेस, फोरम र एमाले तीन दलले उठाएका उम्मेदवार हेर्दा यहाँ सबैभन्दा बढी पैसाको चलखेल हुने देखिन्छ ।

पर्सा-२ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट केन्द्रीय सदस्य एवं पूर्वसभासद् अजय चौरसिया, राजपा र फोरम नेपालको गठबन्धनबाट वीरगन्जका पूर्वमेयर विमल श्रीवास्तव र वाम गठबन्धनबाट माओवादी केन्द्रका मुजालिम मियाँ उम्मेदवार छन् । यसमा माओवादीको जनमत कम भएका कारण कांग्रेसका चौरसिया र राजपा-फोरम गठबन्धनका श्रीवास्तवबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

एकपटक सांसद, एकपटक सभासद् र एकपटक राज्यमन्त्रीसमेत भइसकेका चौरसियाको पारिवारिक आर्थिक अवस्था सबल नै छ । पुख्र्यौली सम्पत्तिका साथै चौरसियाको केही व्यापारमा पनि लगानी छ । राप्रपा, तमलोपा, राजपा, लोकतान्त्रिक फोरम हुँदै मनोनयनको एक साताअघि मात्र फोरम प्रवेश गरेका श्रीवास्तव पनि खर्च गर्न पछि नपर्ने उम्मेदवार हुन् ।

पर्सा-३ मा कांग्रेसका सुरेन्द्र चौधरी, वाम गठबन्धनबाट एमालेका राजकुमार गुप्ता र राजपा-फोरमका हरिनारायण रौनियार मैदानमा छन् । निवर्तमान सांसद चौधरी पूर्वमन्त्री पनि हुन् । पुख्र्यौली सम्पत्ति राम्रै भएका कारण उनलाई पैसावाल उम्मेदवारका रूपमा हेरिएको छ । दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट पर्सा-३ मा निर्वाचित गुप्ता पनि व्यापारिक पृष्ठभूमिका हुन् । वीरगन्जमा उनको स्टिलका भाँडाकुँडा र चक्लेट उद्योग छ ।

यसै क्षेत्रमा राजपा-फोरमका उम्मेदवार हरिनारायण रौनियार मुलुकमै नाम चलेका निर्माण व्यवसायी हुन् । पप्पु कन्स्ट्रक्सन प्रालिका सञ्चालक रौनियार आर्थिक हिसाबले कांग्रेसका चौधरी र वाम गठबन्धनका गुप्ताभन्दा बढी सबल छन् ।

Advertisement

Advertisement

Advertisement