टुरिजमसँग मर्जरको निर्णय गर्न मेगाले बोलाएको विशेष साधारणसभामा कोरम पुगेन, फेरि बोलाइने

Advertisement

काठमाडौंः मेगा बैंक लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको निर्णय लिन सोमबार बोलाइएको विशेष साधारण सभामा कोरम नपुगेपछि अर्को सभा बोलाइने भएको छ ।

मेगा बैंकको संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले सोमबार बोलाइएको विशेष साधारण सभामा आवश्यक कोरम नपुगेकाले मर्जर जस्तो महत्वपूर्ण निर्णय लिनका लागि अर्को साधारण सभा आह्वान गर्न लागिएको बताए ।

अर्को साधारण सभा आह्वान गरी टुरिजम विकास बैंकसँगको मर्जर प्रक्रिया तत्काल टुंगोमा पुर्याउन सेयरधनीले सञ्चालक समितिलाई अनुमति पनि दिएका छन् । अर्को विशेष साधारणसभा छिट्टै बोलाइने बैंकले जनाएको छ ।

दुई जना सेयरधनीले साधारण सभा रोक्नका लागि पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गरी दिएको निवेदनमा अदालतले साधारण सभा रोक्न नपर्ने गरी सोमबारै आदेश समेत जारी गरेको छ ।

साधारण सभाअघि बढाउन अब मेगा बैंकलाई कानुनी रुपमा कुनै बाधा अड्चन नभएको बैंकले जनाएको छ । टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालका बाणिज्य बैंकहरुमध्ये कै एउटा ठूलो बैंक हुनेछ ।

मेगा बैंकको एउटा एक्सटेन्शन काउन्टरसहित ४८ वटा शाखा कार्यालय छन् । यसैगरी, टुरिजम डेभलपमेन्ट बैंकका ३२ वटा शाखा छन् । मेगा र टुरिजम दुबैले यो आर्थिक बर्षमा नयाँ शाखाहरु पनि थप्ने तयारी गरिरहेका छन् ।

मर्जरपछि मेगा बैंकका शाखा कार्यालय एक सय भन्दा बढी पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए । मेगा र टुरिजमबीचको मर्जरले ४८ वटा जिल्लामा बैंकको व्यवसाय र पुँजीलाई थप बृहत बनाउने शाहले बताए ।

Advertisement

Advertisement

Advertisement