मतदाता प्रभावित पार्ने प्रचण्डको नसुहाउँदो प्रयास

Advertisement

भरतपुरः छोरा प्रकाशको अल्पायुमै मृत्यु भएर शोकमा परेका पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मृत्युको तीन दिन हुन नपाउँदै श्रीमती सीता, कान्छी बुहारी विना मगर र छोरीहरुलाई चुनावी कार्यक्रममा प्रस्तुत गरेर नसुहाउँदो ढंगले मतदाताको सहानुभूति लिने प्रयास गरेका छन् ।

चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका प्रचण्डले छोराको शोकको एक हप्ता पनि नहुँदै श्रीमती र बुहारीलाई चुनावी कार्यक्रममा प्रस्तुत गर्दाको दृश्य अत्यन्तै भद्दा देखिएको छ ।

सनातन हिन्दु धर्ममा विश्वास गर्ने आम नेपालीहरुको अगाडि मानिसको मृत्युपछि गरिने सामान्य रितीहरुसमेत नगरी मतदाता प्रभावित पार्ने प्रचण्डको रणनीति उनकै लागि झन प्रतिउत्पादक बनेको उक्त चुनावी कार्यक्रममा देखिएका दृश्यहरुप्रति सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुबाट प्रष्ट हुन्छ ।

वाम गठबन्धनले मंगलबार आयोजना गरेको कार्यक्रममा एकातिर भर्खरै एक मात्रै छोरो गुमाएकी सीता भक्कानिएर रुँदैथिइन भने अर्कोतर्फ सेतो पहिरनमा देखिएका प्रकाशकी कान्छी श्रीमती आँसु पुछ्दै थिइन ।

क्रान्तिकारी देखिन विशेषगरी कम्युनिष्टहरुले पछिल्ला समयमा मृत्युसंस्कारलाई बहिस्कार गर्ने गरेकोमा हिन्दु धर्ममा विश्वास गर्ने बहुसंख्यक नेपालीहरु सन्तुष्ट छैनन् । हिन्दु धर्म विश्वास मात्रै नभएर विज्ञानमा समेत आधारित रहेको विश्लेषकहरुले बताउँदै आएका छन् ।

चुनावी सभामा छोराको मृत्युको विजोग देखाएर चुनाव जित्न प्रचण्डले गरेको हतारोको दृश्य धेरै नेपालीले पचाउनसक्ने खालको नभई लाज लाग्ने खालको छ । बाबुको मृत्यु हुँदा छालाको जुत्ता लगाएर दागबत्ति दिने र काजकिरिया नगर्ने प्रचण्डदेखि बाबुको किरिया नगर्ने एमाले नेता माधव नेपालप्रतिको धेरै नेपालीको दृष्टिकोण राम्रो छैन ।

अल्पायुमै छोरा गुमाएका प्रचण्ड र उनको परिवारप्रति द्धन्द्धकालमा माओवादीबाट गरिएको हत्या, यातना र ध्वम्सका घटनाहरु बिर्सिएर सबै नेपालीले समवेदना प्रकट गरिरहेको बेला प्रचण्डले हतार हतार श्रीमती र कान्छी बुहारीलाई बोकेर चुनावी कार्यक्रममा पुग्नुलाई धेरैले आँशुको व्यापारको रुपमा लिएका छन् ।

शोकमा रहेको दाहाल परिवारको पीडा बुझेका मतदाताले एक हप्ता ढिलो जाँदैमा मत नदिने वा अर्कोले मत खोज्ने भन्ने स्थिति थिएन । त्यसमाथि प्रचण्ड र उनकी बुहारी बिनाले उम्मेदवारी दिएको क्षेत्रको चुनाव मंसिर १० गते नभई २१ गते भएकाले पनि प्रकाशको मृत्यु भएको तेस्रो दिनमै सीतालाई समेत लिएर चुनावी सभामा जानुपर्ने बाध्यता प्रचण्डलाई थिएन ।

घरमै शोक मनाउन दिनुपर्ने श्रीमती र र बुहारीलाई सार्वजनिक कार्यक्रममा ल्याएर रुवाउँदैमा अहिलेका मतदाता प्रचण्ड तथा माओवादी केन्द्रप्रति सहानुभूति प्रकट गर्दै भोट दिन्छन् भन्ने अवस्था छैन । यस्ता क्रियाकलापले माओवादी केन्द्र र वामगठवन्धनप्रति नै मुलुकभर जनताको विश्वास घट्न जाने धेरैको विश्लेषण छ ।

Advertisement

Advertisement

Advertisement