एनबी इन्स्योरेन्स अब आइएमई जनरल इन्स्योरेन्स, १८ शाखा र नयाँ प्रोडक्ट थपिने

Advertisement

काठमाडौंः आइएमई समूहको मुख्य लगानी रहेको एनबी इन्स्योरेन्स कम्पनीको नाम परिवर्तन भई आइएमई जनरल इन्स्योरेन्स लिमिटेड भएको छ । समस्याग्रस्त बन्दै गएको एनबी इन्स्योरेन्सलाई आइएमई समूहसमेतले दुई बर्षअघि खरिद गरी नयाँ व्यवस्थापनसहित सञ्चालन गर्दै आएको छ ।

भोलि कात्तिक ८ गतेदेखि लागू हुनेगरी कम्पनी रजिष्ट्रारको कार्यालयले एनबी इन्स्योरेन्स कम्पनीको नाम परिवर्तनको स्वीकृति दिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसअघि असोज १० गतेको एनबीको बार्षिक साधारणसभा र बिमा समितिले नाम परिवर्तनका लागि सैद्धान्तिक स्वीकृति दिएका थिए ।

निर्जिवन बिमा क्षेत्रमा विगत दुई दशकदेखि क्रियाशील एनबीलाई नयाँ लगानीकर्ता र व्यवस्थानले सम्हालेसँगै विगत छ बर्षदेखि हुन नसकेको बार्षिक साधारणसभा गत असोजमा सम्पन्न भएको थियो । नाम परिवर्तनसँगै कम्पनीको लोगो पनि नयाँ सार्वजनिक गरिएको छ ।

चुक्ता पुँजी ५४ करोड रुपियाँमा थप ८० प्रतिशत हकप्रद सेयरसहित ९७ करोड २० लाख पुर्याउने प्रक्रियामा रहेको आइएमई जनरलले त्यसपछि पाँच प्रतिशत बोनस सेयर दिएर सेयर पुँजी एक अर्ब पुर्याउने योजना बनाएको पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष हेकराज ढकालले बताए ।

कम्पनीले असोजसम्म बिमा शुल्क २२ करोड आर्जन गरेको छ भने दुई करोड ५५ लाख खुद मुनाफा आर्जन गरेको छ । विभिन्न क्षेत्रमा ८२ करोड लगानी गरेको यस कम्पनीको शाखा सञ्जाल २५ र सेवा काउन्टर १० रहेको जानकारी दिँदै ढकालले थप १८ वटा शाखा तथा सम्पर्क कार्यालय खोल्न बिमा समितिबाट स्वीकृति प्राप्त भई काम अघि बढेको जानकारी दिए ।

उनले यस बर्ष २० करोड रुपियाँ खुद मुनाफा गर्ने लक्ष्य रहेको पनि बताए । आधुनिक प्रविधिहरुसहित ३६५ दिन नै सरल सेवा दिने लक्ष्य रहेको भन्दै ढकालले एक्सटेण्डेड वारेन्टी पोलिसी, बैंकएसुरेन्स पोलिसी जस्ता नयाँ प्रोडक्ट जारी गरिने बताए । कर्मचारी संख्या १६६ बाट बढाएर २५० पुर्याइने उनले बताए ।

Advertisement

Advertisement

Advertisement