समकालिन साथी शंकर, भीम, घनश्याम मन्त्री भइसके, अब प्रदेश नं. १ को मुख्यमन्त्री हुने पालो मेरो

Advertisement

विराटनगरः प्रदेश नं. १ बाट भावी मुख्यमन्त्रीको रुपमा निकै चर्चामा रहेका जीवन घिमिरे यतिखेर आफूलाई मात्रै विजयी नभएर आफ्नो प्रदेशमा वामपन्थी गठवन्धनलाई विजयी गराउने प्रयासमा सक्रिय छन् ।

स्कुले जीवनदेखि नै राजनीतिमा होमिएर पूर्वी क्षेत्रमा राजनीतिक बनाउँदै आएका घिमिरेले वामपन्थी समूहबाट मुख्यमन्त्रीका प्रमुख दावेदार हुन । आफ्नो राजनीतिको मार्गदर्शक तत्कालिन एमाले महासचिव स्वर्गीय मदन भण्डारी र नेता अशोक राईलाई बनाउँदै आएका उनी प्रदेश नं. १ को मुख्यमन्त्रीका लागि आफ्ना भावी योजनाहरु अघि सार्दै आएका छन् ।

वामपन्थी समूहबाट शेरधन राईले पनि आफूलाई भावी मुख्यमन्त्रीको रुपमा दावी गरे पनि जीवन घिमिरेको राजनीतिक योगदान र सक्रियताले निकै कनिष्ठ हुन । विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि हरेक नेता कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने पार्टीको नीति निर्देशनअनुसार जिल्ला फर्किएर सानो तिनो व्यवसाय गर्दै वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका घिमिरे आफूले मुख्यमन्त्री दावी गर्नुको औचित्य यसरी पुष्टी गर्छनः

सानैमा म वामपन्थी राजनीतिबाट प्रभावित भए । सोही पार्टीको विचारको अध्ययन गर्दै गएँ । मुलुकलाई निरंकुश व्यवस्थाबाट, सामन्ती र विभेदकारी व्यवस्थाबाट मुक्त गरी जनतालाई मुक्ति दिलाउनुपर्छ भनेर लागें । म व्यक्तिगतरुपमा पनि कसैप्रति विभेद भएको, अन्याय भएको देख्न सक्दिन । मलाई पनि त्यस्तो कसैले नगरोस भन्ने ठान्छु ।

मेरो स्वाभाव, लगनले नै गर्दा विद्यालयमा अध्ययन गर्दा नै सबै साथीहरुले स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनाए । त्यसपछि विद्यार्थी आन्दोलनमा सक्रिय हुने क्रममा राजकाजको मुद्दा लगाइएका कारण लामो समय भूमिगत हुनुपर्यो । त्यस क्रममा स्वर्गीय जननेता मदन भण्डारी र नेता अशोक राईसँग नजिक रहेर काम गर्ने मौका पनि मिल्यो ।

उहाँहरुका धेरै विचार र कार्यशैलीबाट म प्रभावित पनि भएँ । मेरा राजनीतिकको मार्गदर्शक भनेको वास्तवमा मदन भण्डारी र अशोक राई हो । मैले अनेरास्ववियुदेखि युवा संघ र पार्टीका विभिन्न तहमा रहमा रहेर जनताका विकास निर्माणका कामदेखि संगठन सुदृढीकरणमा सक्रिय रहँदै आए । तर, पार्टी मात्रै रहेर जनताका लागि काम गर्ने भनेको एउटा सीमासम्म हो । आफ्नो अठोटअनुसार काम गरेर देखाउन राजकीय पदमा रहनै पर्नेरैछ । मैले अहिलेसम्म यो अवसर पनि पाएको छैन ।

मेरा समकालिन धेरै साथीहरु मन्त्री, साँसद, मेयर भइसके । म अनेरास्ववियुको झापा सचिव हुँदा अध्यक्ष रहनुभएका इन्द्र बुढाथोकी २०५४ सालमा दमक नगरपालिकाको मेयर हुनुभयो । त्यति बेलाको सदस्य रविन कोइराला मेची नगरपालिकाको मेयर र सभासद (साँसद) हुनुभयो । त्यतिबेलाका सदस्य दीपक कार्की साँसद हुनुभयो । त्यति बेलाको सदस्य चन्द्र शेर्मा शिवशतासी नगरपालिकाको मेयर हुनुभयो ।

अब त्यसैगरी म अनेरास्ववियुको केन्द्रीय सदस्य र संगठन विभाग प्रमुख हुँदाका अध्यक्ष कुलबहादुर गुरुङ मन्त्री र सभासद हुनुभयो । त्यही कमिटिका सदस्यहरु शंकर पोखरेल, भीम आचार्य सभासददेखि मन्त्री हुनुभयो । त्यतिबेलाका महासचिव घनश्याम भुसाल मन्त्री भइसक्नुभयो । अब मेरो पालो प्रदेश नं. १ को मुख्यमन्त्री हुने हो ।

मैले मुख्यमन्त्रीको दावी गर्नु कुनै अस्वाभाविक होइन । जायज र न्यायोचित हो । एमालेको राजनीतिमा म भन्दा जुनियरले मुख्यमन्त्रीको दावी गर्नु बरु अस्वाभाविक हुनसक्छ, मैले गर्दा अस्वाभाविक हुन्न । जायज र न्यायोचित कुरा हो । मेरो योगदान, निष्ठा, त्याग सबै कुरा एमालेका नेता, कार्यकर्ता र जनताले देखेको छ ।

विराटनगरलाई आइटीको अन्तर्राष्ट्रिय हब बनाउनेदेखि किमाथान्का–जोगबनी जोड्नेसम्म योजना
यी राजनीतिक कुराभन्दा पनि अब चुनाव जित्ने, जनताको विश्वास आर्जन गर्ने भनेको आर्थिक एजेण्डाका आधारमा हो । यतिबेला वामपन्थी शक्तिहरु एक भएकोले एमाले र माओवादी केन्द्रको गठवन्धनको पक्षमा माहौल बनेको अवस्था छ । एउटा पार्टीको स्पष्ट बहुमत नहुँदा खिचडी सरकारबाट वाक्क भएका जनता यस पटक वाम गठवन्धनलाई बहुमत दिएर स्थिर सरकार बनाउँ भन्ने पक्षमा देखिन्छन् ।

भोलि मैले जितेर आइसकेपछि गर्ने भनेको पार्टीको भनौं या गठवन्धनको घोषणापत्रमै आधारित भएर गर्ने हो । प्रदेश नं. १ का आर्थिक संभावना र हामीले भोलिका दिनमा गर्ने योजनाहरु समेटिएका छन् । यो प्रदेश भनेको निकै आर्थिक संभावना बोनेको क्षेत्र पनि हो । मैले भन्दै आएको छु विराटनगरलाई आइटीको अन्तर्राष्ट्रिय हब (सुचना प्रविधिको केन्द्र) बनाउने कुरा ।

विराटनगरमा राम्रो अध्ययन भएको ठूलो जनशक्ति छ । विशेषगरी आइटी (सुचना प्रविधि)सम्वन्धी ज्ञान भएको जनशक्ति । अहिले सामान्य आइटी चेतनाबाट पनि धेरै ठूलठूला काम गर्न सकिन्छ । रोजगारीका सिर्जना गर्न सकिन्छ । युवाहरुलाई त्यसमा परिचालित गर्न सकिन्छ । मैले सोचेको ठूलठूला बहुर्राष्ट्रिय कम्पनीहरुलाई विराटनगरमा अफिस खोल्न लगाउने, उनीहरुका आइटीसम्वन्धी कामहरु यहाँबाट गर्ने ।

किनभने अमेरिकाको एउटा बहुर्राष्ट्रिय कम्पनीलाई आफ्नै देशमा म्यानपावर हायर गरेर त्यही काम गर्दा महंगो पर्छ । नेपाल जस्ता अल्पविकसित मुलुकमा गर्दा सस्तो पर्छ । यहाँ रोजगारी सिर्जना हुन्छ । अमेरिकाको कुनै अडिट फर्मको अफिस यहाँ खोलेर यहाँका सम्वन्धित जनशक्तिलाई लगाएर डाटाहरु एनालाइसिस गर्ने, रिपोर्टहरु तयार गर्ने जस्ता काम गर्यो गर्न सकिन्छ । उसलाई अडिटर हायर गरेर अमेरिका लगेर काम गर्न निकै महंगो पर्छ ।

जस्तो अमेरिकी कम्पनीले भारतको हैदराबादमा आफ्नो कल सेन्टर स्थापना गरेर काम गरिरहेको छ । त्यही कल सेन्टर अमेरिकामा राख्दा उसलाई निकै महंगो पर्छ । नेपालमा यस्ता किसिमका आइटीसम्वन्धी संभावनामा कसैको ध्यान नै गएको छैन । त्यो म यहाँ गरेर देखाउने सोचमा छु ।

त्यस्तै, अर्को कुरा विकाससम्वन्धी, सुचना प्रविधिसम्वन्धी विषयमा राम्रा विद्यार्थीलाई विश्वका राम्रा विद्यालय वा कलेजमा पढन पठाउने र पढिसकेपछि कम्तिमा पाँच बर्ष आफ्नो प्रदेशमा काम गर्ने । त्यो खालको व्यवस्था सरकारले नै गर्यो भने बाहिरको प्रविधि नेपालमा आउँछ, नेपालको विकास पनि हुन्छ, न्यून आयस्तरका जनताका छोराछोरीले पनि राम्रो विषयमा बाहिर गएर अध्ययन गर्ने मौका पाउँछन् ।

सरकारी विद्यालयहरुको गुणस्तर बिग्रिँदै गएको छ । न्यूनआयस्तरका जनताका छोराछोरी धेरै पढ्ने यस्ता विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालसरह बनाउन पनि तिनीहरुको भौतिक संरचनाहरु राम्रो बनाउने र प्रविधिमैत्री अध्ययन अध्यापन गराउने विधिको विकास गर्ने सोच मेरो छ ।

जोगवढी–कटारी प्रवेश गर्ने रेलसेवाको काम प्रारम्भ भए पनि काममा ढिलाई भइरहेकोले यसलाई समयमा सम्पन्न गर्ने, विराटनगरस्थित नेपालको पूरानो औद्योगिक क्षेत्रका अधिकांश उद्योगहरु रुग्णहरुको अवस्था सुधार गर्न उद्योग सञ्चालनको सहज र सुविधायुक्त बाताबरण बनाउने, किमाथान्का–जोगबनी जोडेर चाँडै सञ्चालनमा ल्याउने ।
किमाथान्का–जोगबनी जोड्ने कुरा प्रदेश नं. १ को विकासको लागि रणनीतिक महत्वको विषय हो । हामी पर नगई यो सडक जोडन मात्रै सकियो र भारतीय पर्यटकहरुलाई हिमाली क्षेत्रको पर्यावरणीय अवलोकनका लागि मात्रै आकर्षिक गर्न सकियो, हिमाली क्षेत्रका जडिबुटी र फलफुल भारतसम्म पुर्याउन सकियो भने पनि यो प्रदेशको विकासले अरुलाई उछिन्छ ।

त्योबाहेक हिमाली क्षेत्रको विकासका लागि त्यस क्षेत्रका जिल्लाहरु जोड्ने छुट्टै राजमार्ग बनाउने, मध्यपहाडी लोकमार्गलाई चाँडै सम्पन्न गर्ने मेरा योजना हुन । कृषिको आधुनिक विकासमार्फत यो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्छ । सँगसँगै विराटनगरमा रिङरोड नभई भएको छैन । यहाँको स्टेडियम गाई गर्ने गौचरन भएको छ । यसलाई सुधार गरे अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र फुटबल मैदान बनाउने, खेलकुदमा रुची भएका खेलाडीहरुलाई भारतीय क्लवहरुबाट प्रशिक्षित बनाउने जस्ता कुराहरुलाई मैले प्राथमिकतामा राखेको छु ।

Advertisement

Advertisement

Advertisement