वामपन्थीको सरकार बन्नासाथै केरुङबाट काठमाडौं हुँदै पोखरा रेल कुँदाइहाल्छौंः ओली

Advertisement

पोखराः एमाले अध्यक्ष केपी ओलीले कांग्रेस संस्थापक नेता विपी कोइराला जिवित भएको भए एमाले प्रवेश गर्ने दावी गरेका छन् । वामगठवन्धनले पोखरामा शनिबार आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो तर्क गरेका हुन ।

नेता कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहले बुढेसकालमा काँग्रेस छोडेको उदाहरण पेस गर्दै उनले विपी पनि जिवित भएको भए अहिले काँग्रेस छोडेर एमाले प्रवेश गरिसक्नुहुथ्यो भने ।

ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै नेतृत्वको कारण काँग्रेसप्रति जनताको वितृष्णा बढेको, समाजवादी विचारधारालाई बिर्सिएको बताए । उनले विपी बाँचिरहेको भए काँग्रेस पूराना भयो भनेर छोडेर एमालेमा प्रवेश गर्नुहुन्थ्यो भन्दै अहिले समाजवादी नेता काँग्रेसमा नरहेको जिकिर गरे ।

बिपी, गणेशमान र किशुनजी जस्ता नेता हुँदा कांग्रेस समाजवादी रहे पनि अब नरहेको र समाजवादको कुरा गर्दा उ तर्सिने गरेको ओलीको भनाई छ । अबको निर्वाचनमा वामपन्थीले सजिलै बहुमत ल्याउने जिकिर गर्दै उनले सरकार बन्नासाथै केरुङबाट काठमाडौं हुँदै पोखरा रेल कुँदाइहाल्ने बताए ।

केरुङबाट काठमाडौं हुँदै पोखरा रेल ल्याउन सर्भे गराइहाल्ने र लिक बिच्छ्याइ हाल्ने आश्वासन बाँढ्दै ओलीले मुलुकभरि विकासको लहर ल्याउने बताए । उनले यस चुनावपछि मुलुकमा संक्रमणकाल अन्त्य भई वामपन्थीको स्थिर सरकार बन्ने बताए ।

वामपन्थीको सकार बनेपछि कोही पनि नेपाली भोकभोकै मर्नुनपर्ने ओलीको भनाई छ । उनले ज्येष्ठ नागरिकलाई दिँदै आएको मासिक दुई हजार रुपैयाँ भत्ता पाँच हजार पुर्याउने उद्घोष पनि गरे।

Advertisement

Advertisement

Advertisement