माइक्रोवेभ प्रविधिले दुर्गममा समेत मोवाइल र इन्टरनेट सेवा सहजः नेपाल टेलिकम

Advertisement

काठमाडौंः नेपाल टेलिकमले विभिन्न जिल्लामा भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकोमा हाल माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । कतिपय नयाँ स्थानमा समेत यो प्रविधिबाट सेवा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ ।

हालै पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, मोरङ, झापा, सप्तरी र सुनसरीका विभिन्न स्थानमा बिटिएस स्थापना गरी माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको भन्दै कम्पनीले पूरानो प्रविधिमा भ्वाइस सेवा मात्र उपलब्ध भइरहेकोमा अब नयाँ प्रविधिमार्फत मोबाइलमा भ्वाइस र डाटा दुवै सेवा उपलब्ध गराउन सकिने जानकारी दिएको छ ।

सोलुखुम्बुको गुदेल, ताप्लेजुङको लेलेप, ओखलढुङ्गाको निसंखे र उदयपुरको खसिबासमा माइक्रोवेभ प्रविधिमार्फत सेवा सञ्चालन गरिएको छ । त्यसैगरी सोलुखुम्बूको खरीखोला, जुनीबेसी र छेसक्याममा पहिले भिस्याटमार्फत सेवा सञ्चालन भइरहेकोमा हाल माइक्रोवेभमार्फत नयाँ प्रविधिमा जिएसएम सेवा सञ्चालन गरिएको जनाइएको छ ।

झापाको भद्रपुर १, दमक नगरपालिका, लखनपुर र मेचीनगर; मोरङको बेलवारी १, २ र ३; मोरङ कै दुलारी, सुन्दरपुर तथा उर्लाबारी ४ र ५; सप्तरीको अर्नाहा १ र इनर्वा फुलबारिया १; सुनसरीको हासपोसा, इनरुवा नगरपालिका, इटहरी र महेन्द्रनगर तथा उदयपुरको सिद्धिपुर १ र त्रियुगा ५ मा हालै माइक्रोवेभमार्फत नयाँ प्रविधिमा जिएसएम सेवा सञ्चालनमा ल्याइएको छ ।

अब ती स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटामार्फत विभिन्न वेबसाइट चलाउन तथा देश विदेशमा भएका आफन्तहरुसँग भिडियो कल समेत गर्न सकिने टेलिकमले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement