उत्तरद्धारा अमेरिकासम्म पुग्ने ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण, आफूलाई आणविक शक्तिको घोषणा

Advertisement

सोलः संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुँदाहुँदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाले सो क्षेप्यास्त्र प्रहार गरेको समाचार दक्षिण कोरियाली समाचार समिति योनहापले बुधबार बिहान जनाएको थियो । विश्व समुदायको आग्रह र निन्दाकाबीच नै गएको करिब साढे दुई महिनापछि उत्तर कोरियाले बुधबार बिहान सो क्षेप्यास्त्र प्रहार गरेको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाको दक्षिणी प्रान्त प्योङ्यानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र हानिएको थियो । उक्त क्षेप्यास्त्र उक्त प्रान्तबाट पूर्वतर्फ गएको थियो । उत्तर कोरियाले अहिलेसम्म गरेका यसअघिका सबै परिक्षणहरुमध्ये यो पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली रहेको विश्लेषकहरुले बताएका छन् ।

उत्तर कोरियाले गरेको दाबीअनुसार यो अमेरिकी महादेशसम्म नै मार हान्नसक्ने शक्तिको रहेको छ । उक्त क्षेप्यास्त्र पाँच हजार ४७५ मिटरको उचाइसम्म पुगेको थियो । यो क्षेप्यास्त्र करिब ५३ मिनेटमा ९५० किलोमिटर टाढासम्म पुगेको थियो ।

यो क्षेप्यास्त्र यसअघि जस्तो जापानी भूभागको माथिबाट भने नगएको बताइएको छ । तर यो जापानी समुद्रमा भने खसेको अनुमान गरिएको छ ।

उक्त क्षेप्यास्त्रले पार गरेको दूरीको बारेमा केही बताइएको छैन । तर पनि विश्लेषकहरुले उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाको भूमिसम्म नै भेट्नेगरी लामो दूरीसम्म मार हान्ने क्षमताका क्षेप्यास्त्रहरुको विकास उसले गरिरहेकोले यस पटकको यो परीक्षण पनि यस्तै शक्तिको भएको जनाएका छन् ।

यसअघि गत अप्रिल महिनामा पनि उत्तर कोरियाले एउटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो । सो क्षेप्यास्त्र पनि निकै शक्तिशाली भएको बताइएको थियो ।

उसले यो वर्षको जुलाई महिनामा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमबारे विश्वव्यापी रुपमा नै तनाव बढिरहँदा यो फेरि अर्को क्षेप्यास्त्र हानेको छ ।

अमेरिका, दक्षिण कोरिया, जापान र संयुक्त राष्ट्रसंघले पनि यसको निन्दा गरेका छन् । यसअघिको एक परीक्षणमा उत्तर कोरियाले जापानको भूमि नघाएर समुद्रमा मिसाइल हानेको थियो । त्यस लगत्तै उसले ६.३ रेक्टरको कम्पन ल्याउनेगरी नै हाइड्रोजन मिश्रित परमाणु परिक्षण नै गरेको थियो । त्यस घटनापछि भने उत्तर कोरिया आगामी दिनमा थप घातक मिसाइलको तयारीमा जुटेको चिन्ता सर्वत्र व्यक्त गरिएको थियो ।

हामी आणविक शक्तिराष्ट्र भयौँ– उन

यसैबीच उत्तर कोरियाली नेता किम जोङ उनले आफू आणविक शक्तिराष्ट्र भएको घोषणा गरेका छन् । उनले बुधबार उत्तर कोरियाले गरेको आणविक परीक्षणको निरीक्षणपछि सो घोषणा गरेका हुन ।

उक्त निरीक्षणपछि उनले भने– आजको परीक्षण निकै शक्तिशाली छ, यसले अमेरिकाको सबै भूभागसम्म हान्न सक्छ, त्यसैले म आज गर्वका साथ यो भन्न सक्छु कि हामी अब भने आणविक शक्तिराष्ट्र भएका छौँ ।

यसले आफ्नो देशलाई अमेरिकाको जस्तोसुकै आक्रमणका विरुद्धमा पनि बचाउन सक्ने अवस्था रहेको पनि उनको भनाई छ । बुधबार भएको यस परीक्षणपछि उनले उक्त ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणस्थलको निरीक्षण गर्नुका साथै यसको क्षमताको बारेमा पनि जानकारी लिएका थिए ।

त्यस क्रममा उनीले उक्त क्षेप्यास्त्र परीक्षणमा संलग्न अधिकारीहरुलाई धन्यवाद पनि दिएको उत्तर कोरियाली समाचार समिति केसिएनएले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय महासचिवको विरोध

यसैबीच उत्तर कोरियाले गरेको उक्त परीक्षणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले कडा शब्दमा विरोध गरेका छन् ।

उनले बारम्बारको संयुक्त राष्ट्रसंघ तथा विश्व समुदायको आग्रहको बेवास्तागर्दै गरेको यो आणविक परीक्षण विश्व शान्तिका लागि पनि एक चिन्ताजनक घटना भएको पनि स्पष्ट गरे ।

महासचिवले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ– यो विश्व शान्तिको राष्ट्रसंघीय मान्यताको पूरै रुपमा विरुद्धमा छ र यसले राष्ट्रसंघ तथा विश्व समुदायको शान्तिको चाहनाको अपमान गरेको छ ।

क्षेप्यात्र परीक्षणलगत्तै जापान र दक्षिण कोरियाले रक्षासम्बन्धी आकस्मिक बैठकहरु पनि आह्वान गरेका छन् । बुधबार मन्त्रिपरिषदका आकस्मिक बैठकहरु पनि बोलाइएको समाचारमा जनाइएको छ ।

विश्वमा बढ्दो चिन्ता

उत्तर कोरियाले बारम्बार गर्ने गरेको र एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र हान्ने गरेको यस घटनाले विश्वमा नै हतियारको होडबाजी बढ्ने र यसले नागरिकको शान्तिको चाहनामा गम्भीर असर पार्ने चिन्ता विश्वब्यापी रुपमा बढाउने चिन्ता व्यक्त गरिएको छ ।

केही समयमात्र अघि पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बोल्दै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न नसक्ने हो भने त्यसले घातक परिणाम ल्याउने चेतावनी समेत दिए ।

एकातर्फ अमेरिकाले उत्तर कोरियाको यस्तो आणविक महत्वाकांक्षालाई निस्तेज पार्नका लागि चीनले नै प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने चाहन्छ भने तर चीनले भने यस विषयमा कुनै कडा प्रतिक्रिया दिने गरेको छैन ।

चीनले उत्तर कोरियासँग शान्ति वार्तागरी यसैका माध्यमबाट यो आणविक कार्यक्रम नियन्त्रण गर्न सकियोस् भन्ने चाहेको छ । चीनले सदैव उत्तर कोरियासँग वार्तागरी समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

यसरी आणविक परीक्षणहरुको यो पछिल्लो होडबाजीले विश्वमा युद्धको भय झन् बढ्दै गएको टिप्पणी गर्न थालिएको छ । विश्लेषकहरुले यस्तो अवस्थाको नियन्त्रण र निवारण गरी शान्तिपूर्ण विश्व निर्माणका लागि सबैको सकारात्मक पहल हुनुपर्नेमा जोड दिएका छन् ।

Advertisement

Advertisement

Advertisement