प्रवासीद्वारा सामुदायिक विद्यालयलाई तेह्र लाख सहयोग

Advertisement

फलेवासः सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि रोजगारीका लागि हङकङमा बस्दै आएका प्रवासीले ठूलो धनराशि सहयोग गरेका छन् ।

उत्तरी पर्वतका जलजला र मोदी गाउँपालिकाका विभिन्न वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तथा विपन्न, दलित र गरिब बालबालिकालाई सहयोग पुर्याउने उद्देश्यले पर्वत पुन मगर कल्याणकारी कोष हङकङले १३ लाख रुपियाँ सहयोग गरेको हो । जलजला गाउँपालिका र मोदी गाउँपालिकाका विभिन्न वडामा रहेका २६ वटा सामुदायिक विद्यालयलाई ५० हजार रुपियाँका दरले सहयोग गरिएको हो ।

विगत छ वर्ष अघि स्थापना भएको उक्त कोषको अक्षय कोषबाट यसअघि मिर्गौला पीडितको स्वास्थ्योपचारका लागि ७० लाख रुपियाँ र भूकम्प पीडितको राहतका लागि ३० लाख रुपियाँ सहयोग गरिसकिएको कोषका उपाध्यक्ष हेमबहादुर पुन ‘तुफान’ले जानकारी दिए । उनका अनुसार स्वदेशमा रोजगारी नपाएर आफूहरु प्रवासी जीवन बिताउनु परे पनि गाउँको विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान होस् र विपन्न तथा दलित र जनजातिका बालबालिकाले पढ्नबाट वञ्चित हुन नपरोस् भनेर उक्त सहयोग गरिएको हो ।

पर्वत जिल्लाकै विकासका लागि भनेर कल्याणकारी कोष खडा गरिएको जानकारी दिँदै पुनले विदेशमा दुःख गरेर कमाएको रकमको थोरै हिस्सा सामाजिक सेवामा लगाउनुपर्छ भन्ने उद्देश्यले कोष खडा गरिएको जानकारी दिए । त्यस्तै उक्त कोषबाट मगर समुदायको बाहुल्यता रहेको उत्तरी पर्वतका बाँसखर्क, लेखफाँट, धाईरिङ, शालिजा, क्याङ, देउराली र देउपुरका विद्यालयमा खेलमैदानलगायत अन्य भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement