गरिवी निवारणमा सहकार्य गर्न सहकारी बैंक र गरिवी निवारण कोषबीच सम्झौता

Advertisement

काठमाडौंः राष्ट्रिय सहकारी बैंक र गरिवी निवारण कोषबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बिहीबार बैंकका प्रवन्ध सञ्चालक केबी उप्रेती र कोषका कार्यकारी निर्देशक नहकुल केसीले हस्ताक्षर गरे ।

कार्यक्रममा उप्रेतीले सहकारीलाई व्यवसायीकरण र वित्तीय व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले भएको यो समझदारीले गरिव तथा विपन्न वर्गलाई बैंकिङ क्षेत्रको थोक कर्जासहित बचत, पुँजी परिचालन एवं अन्य बैंकिङ सेवाको पहुँचमा सहयोग पुग्ने बताए ।

कोषअन्तर्गत गठन भएका सामुदायिक संस्थाहरुका सदस्यहरु सम्मिलित २५ जिल्लामा गठन भएका ४२५ सहकारी र चालु आर्थिक वर्षमा गठन गरिने अन्य सहकारीहरुलाई विभिन्न किसिमका क्षमता विकास तालिमहरुको साथै बचत, कर्जा र पुँजी परिचालन गर्न सहयोग गरिने बताइएको छ ।

सम्झौताअनुसार कोषको सहयोगमा सञ्चालित सामुदायिक संस्था तथा ३५६ हस्तकला उत्पादन समूहको सहकारी स्थापना गरी आवश्यकता अनुसार थोक कर्जा, बचत र पुँजी परिचालन गरिने छ ।

कोषको सहयोगमा गठित सहकारी संस्थाहरुको बचत परिचालन राष्ट्रिय सहकारी बैंकमार्फत गर्न प्रेरित गरिनेछ । समझदारीले ग्रामीण अर्थतन्त्र विकास तथा उद्यमको संस्थागत विकासले लक्षित घरपरिवारलाई गरिवीको चक्रबाट माथि उठाउन भरपर्दो आधार तयार गर्ने कोषका कार्यकारी निर्देशक केसीले बताए ।

कोषका सहयोगमा ५८ जिल्लामा ३२ हजार सामुदायिक संस्था गठन भएका छन भने नौ लाख गरीव घरपरिवार कोषका कार्यक्रमबाट लाभान्वित हुने जनाइएको छ । उप्रेतीले कोषसँग भएको समझदारीले सहकारीमार्फत गरिवी निवारणको राष्ट्रिय लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए ।

Advertisement

Advertisement

Advertisement