कम्युनिष्ट एकताले काँग्रेसलाई पनि फाइदा, काँग्रेस उल्टै भ्रम फैलाउँदैछः प्रचण्ड

Advertisement

रत्ननगरः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकताले नेपाली काँग्रेसलाई फाइदा पुगेको बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–९ धारेचोकमा शुक्रबार आयोजित चुनावीसभाा प्रचण्डले फाइदा हुँदाहुँदै पनि धन्यवाद दिनुको साटो काँग्रेसले जनतामा भ्रम फैलाएको गुनासो पोखे ।

उनले काँग्रेसबाट फुटेर गएका मधेश केन्द्रित दलहरु फेरि काँग्रेसमा आएको भन्दै कम्युनिष्ट शासनको बारेमा गलत सन्देश नफैलाउन आग्रह गरे । प्रचण्डले भने, “कम्युनिष्टहरु देशको समृद्धि र विकासको पक्षमा रहेकाले तपाईँहरु पनि मिल्नुहोस् भनेकै हो, विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो र राजपासँग पनि मिल्नुस् जे–जे नाम भए पनि सबै पार्टी काँग्रेस नै हुन् ।”

प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको काँग्रेसले प्रतिगमन र राजतन्त्रको वकालत गर्ने राप्रपालाई समर्थन गर्नु दुःखद् भएको भन्दै उनले भने, “कम्तीमा हलो नबोकी दिएको भए हुन्थ्यो, यो क्षेत्रमा लोकतन्त्रका लागि लडेका थुप्रै आदरणीय काँग्रेसका नेताहरु थिए, उनीहरुलाई उम्मेदवार बनाएको भए मलाई पनि प्रतिष्पर्धा गर्न सजिलो हुन्थ्यो ।”

प्रचण्डले नेपाली कम्युनिष्टको सपना शान्ति र समृद्धि भएको बताउँदै यसैका लागि वाम एकता आवश्यक भएको बताए । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनले राष्ट्रको आवश्यकताअनुसार बृहत्तर हितका निम्ति वामशक्ति अघि बढ्ने बताए ।

Advertisement

Advertisement

Advertisement