उखुको मूल्य निर्धारणका लागि बसेको बैठक विना निष्कर्ष टुँगियो

Advertisement

काठमाडौंः यस बर्षको क्रसिङ सिजनको लागि उखुको मूल्य निर्धारण गर्न बसेको उखु उत्पादक किसान र चिनी उत्पादक कम्पनीहरुबीचको बैठक विना निष्कर्ष टुँगिएको छ । किसानहरुले गत बर्षको भन्दा मूल्य बढनुपर्ने माग राखेपछि चिनी उत्पादकहरुसँग कुरा नमिलेको हो ।

उखु उत्पादक किसानहरुका अनुसार बढ्दो लागतअनुसार उखुको मूल्यवृद्धि हुनुपर्छ । चिनी उत्पादकहरुले पनि चिनीको मूल्य वृद्धि गर्दै लगेकाले उखुमा मूल्यवृद्धि हुनुपर्ने तर्क मिलगेट उखु उत्पादक संघका अध्यक्ष बेदबहादुर बुढाथोकीको भनाई छ ।

किसानलाई उखु खेतिप्रति आकर्षित बनाउन पनि उखुको मूल्य समायोजन जरुरी छ भन्दै उनले किसानको लागत मूल्य खेतको जोताई, रासायनिक मल, कटान, ढुवानी लगायतका खर्चका कारण निकै बढेकाले उद्योगपतिहरुले उचित मूल्य दिन आनाकानी गर्न नहुने बताए । कार्तिकदेखि फागुनसम्म सम्पूर्ण उखु क्रसिङ गरिसक्नु पर्छ भन्ने प्रस्ताव पनि राखिएको छ ।

फागुनपछि क्रसिङ गर्दा उखुको रस सुकेर तौल कम हुँदै जाने, गर्मीले गर्दा कामदार नपाउने, आगलागी हुने सम्भावना बढी हुने भएकाले निर्धारित समय भित्र नै क्रसिङ गरिसक्नुपनै भन्दै किसानहरुले उद्योगपतिले उद्योग सञ्चालनमा ढिलो गर्न नहुने बताउँछन् ।

चिनी उत्पादक कम्पनीहरुले भने चिनीको अन्तर्राष्ट्रिय मूल्यमा गिरावट आएकाले किसानले माग गरेको मूल्य कुनै पनि हालतमा दिन नसकिने बताउँदै आएका छन् । वार्ताका लागि बैठक फेरि बस्ने जानकारी दिइएको छ ।

Advertisement

Advertisement

Advertisement